
अरु पालिका पनि बालमैत्री बनौँ
आजका बालबालिका, भोलि भविष्यका मुलुकका संवाहक हुन्, त्यसैले बालबालिकाको चौतर्फी विकासका लागि संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकार सरिक हुनुपर्छ । स्थानीय तह सुरु हुनुअघि जतिबेला स्थानीय निकाय थियो, त्यतिबेला गोरखाका करिब ६६ वटै गाविसहरु बालमैत्री बन्ने क्रममा थिए । बालमैत्री स्थानीय निकाय निर्माणका लागि गैरसरकारी संस्थाहरुले पनि उत्प्रेरकको काम गरिरहेका थिए ।
तर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो, स्थानीय निकायको संरचना हरायो, अनि बालमैत्री स्थानीय शासनको अवधारणा पनि समाप्त भयो । अहिले ११ वटा पालिका र ९४ वटा वडाहरु बनेका छन् । अहिले वडालाई बालमैत्री वडा बनाउन नसकिएला, तर पालिकालाई बालमैत्री पालिबा बनाउन सम्भव छ । जसरी यसअघि गाविसहरुलाई बालमैत्री स्थानीय निकाय बनाइएको थियो, त्यसैगरी स्थानीय तहहरुलाई बालमैत्री स्थानीय तह बनाउन सकिन्छ ।
बालमैत्री स्थानीय तहमा बाल विकास, बाल संरक्षण, बाल अधिकार, बाल सशक्तिकरण, बाल सशक्तिकरणको सुनिश्चितता हुन्छ । बालमैत्री स्थानीय तह बन्नका लागि पूरा गर्नुपर्ने केही सूचकहरु हुन्छन् । ती सूचक पूरा गरेपछि बालमैत्री स्थानीय तह बन्छन् । गोरखामा सबैभन्दा पहिले अजीरकोट गाउँपालिका बालमैत्री पालिका बनेको छ । अब सो पालिकाले बालविकास, बाल शसक्तिकरण, बाल संरक्षण, बालअधिकारका लागि धेरै कार्यक्रहरु गर्नेछ । यसले गर्दा सो पालिकाका बालबालिकाहरु तुलनात्मक रुपमा अरुभन्दा अगाडि हुनेछन् ।
सबैभन्दा पहिले आफ्नो पालिकालाई बालमैत्री घोषणा गरेर अजीरकोटले प्रसंसनीय काम गरेको छ । अब सो पालिकाले आफ्नो कार्य सम्पादनमा अंक वृद्धि पनि गर्नेछ । पालिकाभित्रका बालबालिकाको चौतर्फी विकास पनि हुने अपेक्षा गर्न सकिन्छ ।
अब अरु पालिकाहरुले पनि धमाधम निर्धारित सूचकहरु पूरा गरी पालिकालाई बालमैत्री घोषणा गर्नुपर्छ, जसले गर्दा त्यहाँका बालबालिकाहरु पनि सशक्त बनुन् ।




