
पाँच पालिकामा पशुमा पुर्ण खोप कार्यक्रम सम्पन्न
जिल्लाको पाँच वटा स्थानीय तहमा पशुमा पुर्ण खोप कार्यक्रम सम्पन्न भएको छ । बारपाक सुलिकोट, भिमसेन थापा, शहिदलखन, गण्डकी र आरुघाट गाउँपालिकामा पशुमा पुर्ण खोप कार्यक्रम सम्पन्न भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले जनाएको छ । पहिलो चरणमा उक्त पालिकामा कार्यक्रम संचालन गरिएको कार्यालयले जनाएको छ । कार्यक्रम अन्तरगत १ लाख ५७ हजार ९ सय ९८ पशु चौपायालाई खोप लगाइएको कार्यालयकी निमित्त प्रमुख सर्मिला कुमालले बताइन् ।
कार्यालयको तथ्याङ्क अनुसार शहिद लखन गाउँपालिकाको ७ हजार ४ सय ४० गाई/भैँसीमा खोप लगाइएको छ । त्यस्तै १३ सय २६ सुँगुर र ९ सय १६ वटा कुकुरलाई पनि खोप लगाइएको छ । गण्डकी गाउँपालिकामा ९ हजार ३ सय ३७ गाई/भैँसी, ४५ हजार ९ सय १५ बाख्रा, ८ सय ८० सुँगुर र ९ सय १४ कुकुरलाई खोप लगाइएको कार्यालयले जनाएको छ ।
यता भिमसेनथापा गाउँपालिकामा ८ हजार १ सय ३७ गाई/भैँसी, २ सय ४५ सुँगुर र १ सय ६ कुकुरलाई खोप लगाइएको बताइएको छ । आरुघाटमा ७ हजार ५ सय ६० गाई/भैँसी, १ सय १ सुँगुर, ६ सय २५ कुकुर र बारपाक सुलिकोटमा २२ हजार ९७ गाई/भैँसी, ५० हजार ७ सय २८ बाख्रा, ३ सय ५७ सुँगुर र ७ सय १४ वटा कुकुरलाई खोप लगाइएको केन्द्रको विवरणमा उल्लेख छ ।
रोगको कारणबाट हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि सरकारले पशुमा पुर्णखोप कार्यक्रम संचालन गर्दै आएको छ । कार्यक्रम अन्र्तगत केन्द्रले बाख्रामा पिपिआर विरुद्धको खोप, गाई÷भैँसीमा खोरेत तथा लम्पी स्किनको खोप, सुँगुर/बुँङ्गुरमा क्लासिकल स्वाइन फिवर र कुकुरमा रेबिज विरुद्धको खोप लगाउँदै आएको छ ।
दोस्रो चरण अन्तरगत गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक र अजिरकोट गाउँपालिकामा कार्यक्रम संचालन भईरहेको कार्यालयकी निमित्त प्रमुख कुमालले बताइन् । गत बैशाख २८ गतेबाट सुरु भएको दोस्रो चरणको खोप कार्यक्रम एक महिनासम्म चल्ने उनले जानकारी दिइन् । ‘खोप लगाएको एक महिनापछि पशुहरुको नमुना परिक्षण हुन्छ’, उनले भनिन्, ‘प्रयोगशालामा परिक्षण भएर आएपछि मात्र पालिकाहरुलाई पशुमा पुर्ण खोप पालिका घोषणा गरिन्छ ।’
गत वर्ष जिल्लाका चार पालिकाहरुमा पशुमा पुर्ण खोप कार्यक्रम संचालन भएका थिए । सहिद लखन, भिमसेनथापा, आरुघाट गाउँपालिका र पालुङटार नगरपालिकामा गत वर्ष नै बाख्राहरुमा पिपिआर रोग विरुद्धको खोप लगाइएको पशु सेवा विज्ञ केन्द्र गोरखाले जनाएको छ ।
‘४ पालिकाहरुमा गत वर्ष नै पिपिआर खोप लगाएका थियौँ’, केन्द्रकी प्रमुख कुमालले भनिन्, ‘पिपआिर खोपले २ वर्षसम्म काम गर्ने हुँदा पहिलै खोप लगाइसकेको पालिकाहरुमा पिपआिर खोप बाहेक अन्य खोप मात्र लगाएका छौँ ।’ जिल्लाका ९ पालिकाहरुमा मात्र पशुमा पुर्ण खोप कार्यक्रम संचालन हुने उनले बताइन् । ‘चुमनुब्री र धार्चे बाहेक अन्य पालिकाको लागी मात्र यो कार्यक्रम आएको हो’, उनले भनिन्, ‘दुई पालिकाको हकमा भेडा र बाख्राहरु बढी मात्रामा पाल्ने हुँदा पिपिआर खोप मात्र लगाउछौँ ।’




