| सोमवार, कार्तिक २३, २०८३

गोरखालाई ऐतिहासिक पर्यटनको रुपमा विकास गरौँ

नेपालमा पृथ्वीनारायण शाहको राज्य एकीकरण अभियान थियो, भारतलाई इष्ट इण्डिया कम्पनी (ब्रिटिश सरकार)ले निल्दै थियो । यसको बास्तविक अर्थ भनेको नेपाल संवृद्धिको यात्रामा थियो, भारत अधोगतिको यात्रामा । अथवा नेपाल स्वाभिमानको उचाइ चढ्दै थियो, भारत पराधीनको ओह्रालो यात्रामा थियो ।

काठमाडौँ, ललितपुर, भक्तपुर सरकारले गोरखा सेनाविरुद्ध लड्न कम्पनी सरकार गुहारेको थियो । गोरखाले काठमाडौँ, ललितपुर, भक्तपुर मात्र होइन, कम्पनी सरकारलाईसमेत पराजित गर्न सफल भयो । यसरी कमाएको इतिहास छ गोरखासंग ।
त्यतिबेला कमाएको ‘वीर गोरखा’को गौरव, मान, प्रतिष्ठा, इज्जत, सम्मानलाई जोगाउने, प्रचार प्रसार गर्ने, विकास गर्ने जिम्मेवारी अहिले गोरखालीको काँधमा छ ।

पुर्खाले आर्जेको बिरासत, मान, प्रतिष्ठान चानेचुने होइन, अद्वितीय हो । त्यस्तै इतिहास रच्ने वातावरण पनि छैन, सामथ्र्य पनि छैन, तर संरक्षण, विकास र उजागर गर्ने सामथ्र्य छ, छैन भने पनि हुनुपर्छ । पुर्खाले आर्जेको इतिहासको चिनो गोरखामा गोरखा दरबार छ, गोरखा संग्रहालय छ ।

गोरखा संग्रहालय रहेको तल्लो दरबारको त्यति महत्वपूर्ण इतिहास त छैन, तर त्यहाँभित्र रहेका ऐतिहासिक सम्पदाको महत्व अवर्णनीय छ । त्यसको संरक्षण गर्ने, संरक्षण मात्र होइन, त्यसको उजागर गर्ने जिम्मेवारी अहिलेको पुस्तासंग छ । गोरखा संग्रहालय के हो, त्यहाँ के छ ? त्यसको महत्व केछ भन्ने बारे अहिले भएको प्रचार प्रसारले पुगेको छैन । त्यसको खास महत्वको प्रकाशन भएको छैन । त्यसको घनिभूत प्रचार प्रसारको जरुरत छ ।

प्रचारप्रसारै नहुँदा स्कूल, कलेजको पाठ्यपुस्तकमा अलिअलि प्रचार भएकै भरमा हजारौँ भ्रमणकर्ताले गोरखा दरबार, गोरखा संग्रहालय भ्रमण गर्छन् । यसको व्यापक प्रचार हुन सके, र पूर्वाधारको विकास हुन सके यहाँको पर्यटन विकासले गति लिनेछ ।
७७ जिल्लामध्य गोरखा जिल्लाको विशिष्टता भनेको इतिहाससंग जोडिएको छ । त्यसैले जतिसक्दो इतिहासको प्रवद्र्धन गरी जिल्लाको पर्यटन उद्योगको समेत विकास गर्नु आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्