
करिव ११ लाख पर्यटकले गोरखा संग्रहालय अवलकोन गरे
गोरखा संग्रहालय अवलोकन गर्नेको संख्या करिब ११ लाख पुगेको छ । स्थापना दिवसको अवसरमा तथ्याङ्क सार्वजनिक गर्दै संग्रहालय प्रमुख जयनारायण कार्कीले हालसम्म १० लाख ६१ हजार ३५४ जनाले संग्रहालय अवलोकन गरेको बताए । उनका अनुसार २०६५ साल जेठ १५ गते पहिलो पटक सर्वसाधारणका लागी गोरखा संग्रहालय खुल्ला गरिएको थियो ।
त्यो बर्ष ३६ हजार ५२९ जनाले संग्रहालय अवलोकन गरेका थिए । त्यसयता अवलोकन गर्नेको संख्या बढ्दै गएको कार्कीले बताए । ‘आव ०७७/०७८ मा भने कोरोनाका कारण अवलोकन गर्नेको संख्या घटेर ३३ हजार दुई मा सिमित भएको थियो, जुन हाल सम्मकै कम संख्या हो,’ उनले भने, ‘त्यस यता भने संख्या बढ्दो क्रममा छ ।’
हालसम्म संग्रहालय अवलोकन गर्ने कुल संख्या मध्ये करिब आधा नेपाली रहेका छन् । १७ बर्षको अवधिमा ५ लाख ५९ हजार ७१५ जना नेपालीले संग्रहालय अवलोकन गरेको तथ्याङ्कमा उल्लेख छ । यसैगरी विद्यार्थी ४ लाख ८६ हजार ७५८ जना रहेका छन् । बिदेशी १४ हजार २९ जनाले संग्रहालय अवलोकन गरेका छन् भने ८ सय ५२ जना सार्क राष्ट्रका पर्यटक रहेका छन् ।
संग्रहालय अवलोकन गर्नेहरुबाट हालसम्म एक करोड ८१ लाख ७६ हजार राजस्व संकलन भएको संग्रहालयका सूचना अधिकारी हरि सारु मगरले बताए । हालसम्म संग्रहालय भित्र १२ वटा फिल्म छायांकन भइसकेको छ । नेपालीले भिडियो खिचे बापत ३ हजार, सार्क राष्ट्रका नागरिकहरुले फोटो र भिडियो खिचेको दश हजार ६ सय, फिल्म छायांकन गरेको एक हजार शुल्क लिदै आएको संग्रहालयले जनाएको छ ।
पछिल्लो समय इतिहास बुझ्न चाहने विद्यार्थीहरुका लागि गोरखा संग्रहालय शैक्षिक भ्रमणको उत्कृष्ट गन्तव्य स्थल बन्दै गएको छ । विभिन्न सरकारी वेवसाइट मार्फत गोरखा संग्रहालयको प्रचारप्रसार गरिएकाले पर्यटकको संख्या बढेको कार्यालय प्रमुख कार्कीको भनाइ छ ।




