
१५ लाख खर्चेर धार्चेमा डम्पिङ साइट निर्माण
फोहोर व्यवस्थापनका लागी भन्दै धार्चे गाउँपालिकाले डम्पिङ साइट निर्माण गरेको छ । वडा नम्वर ५ माछीखोला र वडा नम्वर ३ खोर्लावेशीमा डम्पिङ साइट निर्माण गरिएको पालिकाले जनाएको छ । पालिकाको केन्द्र समेत रहेको माछीखोलामा निर्माण भएको डम्पिङ साइटको लागत ७ लाख ५९ हजार रहेको प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनारले बताए ।
नेपाल पर्यटन बोर्डको ४० र गाउँपालिकाको ६० प्रतिशत लगानीमा डम्पिङ साइट निर्माण गरिएको उनले जानकारी दिए । ‘पालिकाले ४ लाख १६ हजार र पर्यटन बोर्डले २ लाख ८३ हजार विनियोजन गरेको हो,’ उनले भने, ‘उपभोक्ता समिति मार्फत काम भएकाले ८७ हजार रकम बराबरको श्रमदान पनि भएको छ ।’ उक्त आयोजना निर्माणका लागी गत मंसिर महिनामा सम्झौता भएको थियो । करिव एक महिनामा काम सम्पन्न भएको पालिकाले जनाएको छ ।
त्यस्तै खोर्लावेशीमा निर्माण भएको डम्पिङ साइटको कुल लागत ७ लाख ५५ हजार रहेको छ । गाउँपालिकाको ४ लाख १६ हजार र नेपाल पर्यटन बोर्डको २ लाख ८३ हजार रकमबाट साइट निर्माण गरिएको हो । ८३ हजार रकम बराबरको श्रमदान समेत भएको प्रमुख प्रशासकीय अधिकृत सुनारले बताए । आयोजना निर्माणका लागी गत मंसिर महिनामा सम्झौता भएको र एक महिनाको अवधिमा काम सम्पन्न भएको उनले जानकारी दिए ।
पालिकाभित्रका फोहोर मैलाको दिगो व्यवस्थापनका लागी डम्पिङ साइट निर्माण गरिएको उनको भनाइ छ । ‘सार्वजनिक जग्गामा खाडल खनेर वरपर वाल लगाएर डम्पिङ साइट बनाएका छौ, पालिकाको फोहोर त्यही लगेर फाल्ने गरेका छौ,’ उनले भने । स्थानीयको घरघरबाट प्रत्येक शनिवार पालिकाले फोहोर उठाउने गर्छ । फोहोर उठाउनका लागी भाडामा ट्याक्टर संचालन गरिएको सुनारले बताए ।
‘एक जना कर्मचारी पनि राखेका छौ, साताको हरेक शनिवार स्थानीयको घरघरबाट ट्याक्टरमा फोहोर उठाएर डम्पिङ साइटमा थुपार्ने गरेका छौ,’ उनले भने । कुहिने र नकुहिने फोहोर घरमै छुट्याएर राख्न पालिकावासीलाई उनले आग्रह समेत गरेका छन् ।




