
धार्चे गाउँपालिकाका करिव तीन हजार बिद्यार्थीको आँखा परिक्षण, १६५ जनालाई चश्मा
धार्चे गाउँपालिकाका सामुदायिक बिद्यालयमा अध्ययनरत करिव तीन हजार बिद्यार्थीको आँखा परिक्षण गरिएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्रको प्राविधिक सहयोग र गाउँपालिकाको आयोजनामा शिविर संचालन भएको थियो ।
तीन चरणमा संचालन भएको शिविरमा पालिकाभरका सबै सामुदायिक बिद्यालयका २ हजार ९०७ जना बिद्यार्थीहरुको आँखा जाँच भएको पालिका स्वास्थ्य शाखा सहसंयोजक केशवराज गुरुङले बताए । ‘उनीहरुमध्ये १ सय ६५ जनामा लो भिजनको समस्या देखियो,’ उनले भने, ‘समस्या भएकालाई निशुल्क चश्मा पनि वितरण गरियो ।’ ५३ जनालाई चश्मा वितरण भएको र बाँकीलाई वितरणको तयारी भइरहेको उनले जानकारी दिए ।
उनका अनुसार तीन चरणमा बिद्यार्थीहरुको आँखा जाँच गरिएको थियो । पहिलो चरण (माघ २२ देखि २९ सम्म) मा जनजागृती मावि माछीखोला, तातोमानि आधारभूत बिद्यालय खोर्लावेशी, सातकन्या मावि खोर्लागाउँ, पार्वती आधारभूत बिद्यालय उहिया, दुङ्ला आवि दुङ्ला, गणेशहिमाल आवि दोभान, गोरखनाथ आवि खानीगाउँ, प्रभातकिरण मावि लापुवेशीका बिद्यार्थीहरुको आँखा जाँच गरिएको थियो ।
कुल ८ सय ७५ जनाको आँखा परिक्षण गर्दा ५३ जनामा समस्या देखिएको गुरुङले बताए । दोस्रो चरण (बैशाख ३० देखि जेठ ४ सम्म) मा मणिकामदेवी मावि लाप्राक, सुर्याेदय मावि गुम्दा, अमरनाथ आवि लप्सीबोट, जनसेवा आवि यामागाउँ, सिंहदेवी आवि सिङ्ला र कालरात्री मावि लापुगाउँका कुल ९ सय ५० जना बिद्यार्थीको आँखा परिक्षण गरिएको थियो । उनीहरुमध्ये ६५ जनामा समस्या देखिएको थियो ।
तेस्रो चरण (जेठ ७ देखि ११ सम्म) मा गण्डकी मावि रुन्चेत, केरौंजा मावि केरौंजा, मञ्जुश्री मावि काशिगाउँ, सुर्यदेवी आवि यार्सा र गंगाजमूना आवि भिरकुनाका १ हजार ८२ जना बिद्याथीको आँखा जाँच गरिएको थियो । उनीहरुमध्ये ४७ जनामा समस्या देँिखएको बताइएको छ । समस्या देखिएकामध्ये केहीलाई चश्मा वितरण भइसकेको र केहीलाई वितरणको तयारी गरिएको गाउँपालिकाले जनाएको छ । बिद्यार्थीसँगै बिद्यालयका शिक्षक र कर्मचारीको पनि आँखा जाँच गरिएको थियो ।




