
धार्चे पूर्ण खोप तथा दिगोपना सुनिश्चितता पालिका घोषणा
उत्तरी गोरखाको धार्चे गाउँपालिका पूर्ण खोप तथा दिगोपना सुनिश्चितता पालिका घोषणा भएको छ । मंगलवार एक कार्यक्रमकाबीच पालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको हो ।
पालिकाभित्र रहेका १६ देखि ५९ महिनासम्मका बालबालिकाहरुले १५ महिनाभित्र पूरा गर्नुपर्ने सबै खोप पूरा गरे नगरेको सर्वेक्षण गरी पालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख अमृतबहादुर घलेले बताए । ‘सर्वेक्षणमा १५ महिना पुरा भएका ९२ जना बालबालिकाले पूर्ण खोप लगाएको पाइयो र १५ महिनाभित्रका २२३ जना बालबालिकाले नियमित रुपमा खोप सेवा लिइरहेको पायौ,’ उनले भने, ‘पालिकाभित्रका लक्षित बालबालिकामध्ये कोही पनि खोप लगाउन छुट नभएकाले पालिकालाई पूर्ण खोप पालिका घोषणा गरेका हौ ।’
पालिकामा रहेका सात वटा वडालाई पूर्ण खोप वडा घोषणा पश्चात पालिकालाई गरिएको उनले जानकारी दिए । २०७४ सालमा पहिलो पटक पालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको थियो । त्यसपश्चात बर्षेनी पालिकालाई पूर्ण खोप घोषणा हुदैँ आएको छ । कोभिडको समयमा भने कार्यक्रम प्रभावित बनेको घलेले बताए ।
पालिका अध्यक्ष लक्ष्मण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनार, जनप्रतिनिधी, कर्मचारी, स्थानीय लगायतको सहभागीता रहेको थियो । कार्यक्रम पूर्व प्रभातफेरी समेत भएको थियो । बिभिन्न प्ले कार्ड सहित निस्किएको ¥याली माछीखोला बजार परिक्रमा गरेर कार्यक्रममा परिणत भएको थियो ।




