
१७ औँ गण्तन्त्र दिवस, जिल्लामा विविध कार्यक्रम गरी मनाइँदै
१७ औँ गणतन्त्र दिवस, गोरखामा विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाईएको छ । दिवसको अवसरमा मंगलबार बिहान प्रभातफेरी तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको थियो।
सरकारी कर्मचारी, जनप्रतिनिधि, विद्यार्थी, स्थानीय लगायतको उपस्थितिमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यलयबाट सुरु भएको प्रभातफेरीले हरमटारी, बिसौँनी मोड, बसपार्क, ठुलोआँगन, तिनधारे हुँदै पुन बिसौनी मोड, हरमटारी हुँदै जिल्ला समन्वय समितिको सभाहलमा पुगेर ओपचारिक कार्यक्रमको आयोजना गरिएको थियो ।

जिल्ला समन्वय समिति प्रमुख मोहन थापा मगरको अध्यक्षता तथा गोरखा नगरपालिका प्रमुख कृष्ण राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला समन्वय समिति उपप्रमुख लिला परियार, पत्रकार महासंघ गोरखाका कार्यवाहक अध्यक्ष नरेन्द्र ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

दिवसकै अवसर पारेर जिल्ला समन्वय समिति प्रमुख मोहन थापाको संयोजकत्वमा बनेको ‘जिल्ला स्तरीय गणतन्त्र दिवस समारोह समिति’ले मैत्रीपुर्ण फुटबल प्रतियोगिताको आयोजना समेत गरेको छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा आयोजना गरिएको उक्त प्रतियोगितामा जनप्रतिनिधि र राष्ट्र सेवक कर्मचारीबीच हुने समितिले जनाएको छ ।
यसैगरी, मंगलबार बेलुका दिप प्रज्वलनको कार्यक्रम रहेको समितिले जनाएको छ ।




