
आधारभूत अस्पताल : कतै जग्गा विवाद कतै डिपिआरमै सिमित
प्रतीक्षा आले मगर ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मंसिर १५ मा देशभरका ३९६ आधारभुत अस्पतालहरुको बालुवाटारबाट स्वीच थिचेर एकसाथ शिलान्यास गरेका थिए । दुई वर्षभित्र भवन निर्माण गरिसक्ने लक्ष्य राखिएको थियो । तर चार बर्ष पुग्न लाग्दा समेत जिल्लामा अस्पताल निर्माणको कामले गति लिन सकेको छैन । कछुवा गतिमा काम अघि बढेको छ ।
जिल्लाका नौ गाउँपालिकामध्ये आरुघाट वाहेक अन्यले आधारभूत अस्पताल संचालन गर्न सकेका छैनन् । आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयामा स्तरोन्नती गर्दै आरुघाटले शनिवारबाट आधारभूत अस्पताल संचालनमा ल्याएको हो । तर अन्य स्थानीय तहले भने चार बर्षसम्म पनि अस्पताल संचालन गर्न सकेका छैनन् ।
विकट मानिने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा जग्गा अभावका कारण काम अघि बढ्न नसकेको स्वास्थ्य शाखाका प्रेम गुरुङले बताए । उनका अनुसार अस्पताल निर्माणका लागी चालु आर्थिक बर्ष ४० लाख रकम प्राप्त भएको थियो । जग्गा प्राप्ती नभएकै कारण काम अघि बढाउन नसकिएको उनले जानकारी दिए । ‘सिर्दिवास स्वास्थ्य चौकीलाई ५ शैयामा स्तरोन्नती गरी आधारभुत अस्पताल संचालनमा ल्याउने योजना थियो,’ उनले भने, ‘तर मापदण्ड विपरित चौकी भवन निर्माण बनेको र अहिलेसम्म हस्तान्तरण पनि नभएको थाहा भएपछि काम रोकियो ।’
गण्डकी गाउँपालिकाको अस्पताल निर्माणको काम डिपिआरमै सिमित छ । पालिकाले बुझाएको डिपिआर प्रतिवेदन नीति तथा योजना आयोगले स्वकृती नदिएका कारण समस्या भएको स्वास्थ्य शाखा प्रमुख कुमार सुनारले बताए । ‘गण्डकी गाउँपालिका लगायत देशका २५९ पालिकाहरुको आधारभुत अस्पतालको शिलान्यास भएपनि स्रोत साधन सुनिश्चित नभएको लिस्टमा परेका छन्,’ उनले भने, ‘त्यसैले काम अघि नबढेको हो ।’
भीमसेनथापा गाउँपालिकामा अस्पताल निर्माणको काम सुरु नै भएको छैन । वडा नं ६ अश्राङमा निर्माण गरिने भनिएको अस्पतालको हालसम्म डिपिआर समेत तयार नभएको स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए । धार्चे गाउँपालिकाले अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ । करिब ९५ प्रतिशत काम सम्पन्न भईसकेको स्वास्थ्य शाखाका अमृत बहादुर घलेले बताए ।
उनका अनुसार संघीय सरकारको आधारभुत अस्पताल परियोजना आउनु अगावै धार्चेमा ‘धार्चे सामुदायिक अस्पताल’ निर्माण प्रक्रिया अघि बढेको थियो । वडा नं ३ खोर्लावेशीमा अस्पलात निर्माणको काम भईरहेको छ । ४० प्रतिशत पालिकाको र ६० प्रतिशत छाँया नेपालको लागतमा निर्माण भईरहेको ५ सैयाको उक्त अस्पताललाई नै आधारभुत अस्पताल बनाइने पालिकाले जनाएको छ ।
शहिदलखन गाउँपालिकामा आधारभुत अस्पताल निर्माणाधिन अवस्थामा छ । वडा नं ५ तिनमानेमा १५ शैया क्षमताको अस्पताल निर्माण भईरहेको पालिकाले जनाएको छ । बारपाक सुलिकोट गाउँपालिकामा पनि भवन निर्माणको काम भईरहेको छ । वडा नं ४ सौरपानीमा निर्माण भईरहेको अस्पतालको काम बजेट अभावका कारण प्रभावित बनेको पालिकाले जनाएको छ ।
सिरानचोक गाउँपालिकामा अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेकोे छ । जौवारी स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी १५ शैयाको अस्पताल निर्माण गर्न लागिएको पालिकाले जनाएको छ । असारमसान्त भित्र संचालनमा आउने गरी काम भईरहेको स्वास्थ्य शाखाले जनाएको छ ।
अजिरकोटमा रंगरोकन वाहेक अस्पताल निर्माणको काम लगभग सकिएको छ । गोरखा नगरपालिकामा यसअघि नै ५० शैयाको गोरखा अस्पताल रहेको छ भने पालुङटार नगरपालिकामा १५ शैयाको आँपपिपल अस्पताल छ । सो अस्पताललाई पनि ५० वेडामा स्तरोन्नती गर्ने निर्णय भइसकेको बताइएको छ ।




