
मणिकाम माविको लोगो र ब्यानरसहित तीन जना भूतपुर्व विद्यायार्थी सगरमाथा शिखरमा
धार्चे गाउँपालिका–४ लाप्राकमा रहेको मणिकाम देबी माध्यमिक विद्यालयको लोगो र ब्यानरसहित तीन जना भूतपुर्व विद्यायार्थीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । पहिलो पटक भुतपुर्व विद्यार्थीहरु सुजल गुरुङ, सन्दीप गुरुङ र बुद्ध गुरुङले सगरमाथाको सफल आरोहण गरेका हुन् ।
उनीहरु विद्यालयको लोगो र ब्यानरसहित सगरमाथाको शिखरमा पुगेका थिए । बिद्यालयको नामलाइ विश्व सामु चिनाउने उदेश्यका साथ लोगो र ब्यानरसहित सगरमाथा आरोहण गरेको भुतपुर्व विद्यार्थी सुजल गुरुङले बताए । ‘मणिकाम देबी स्कुल भनेको पहिला हामी पढेको स्कुल हो, त्यसैले आफु आफैमा गर्व लाग्छ,’ उनले भने, ‘अहिले सम्म कोहीले पनि आफ्नो स्कुलको लागो सगरमाथामा लगेको छैन, हामीले हाम्रो स्कुलको पहिचान होस्, सबै तिर चिनोस् भनेर लोगो र ब्यानरसहित सगरमाथा आरोहण गरेका हौं ।’
तीन जनाले फरक फरक दिनमा सगरमाथा आरोहण गरेको उनले बताए । सन्दीप गुरुङले मे २०, बुद्ध गुरुङले मे २१ र सुजल गुरुङले मे २२ मा सगरमाथा आरोहण गरेका हुन् । तीन जनाको पूर्वतयारी अनुसार नै विद्यालयको ब्यानर र लोगो सगरमाथाको शिखरमा लगिएको हो । उनीहरु सबै अहिले बेस क्याम्प फर्कि सकेका छन् ।




