
राष्ट्रिय वाणिज्य बैंकको सीईओमा गोरखाका खनाल नियुक्त
राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । गोरखा नगरपालिका–८ बराह स्थायी घर भएका उनी यसअघि राष्ट्रिय वाणिज्यकै डेपुटी सीईओ थिए । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले खनाललाई ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।
सीईओ छनोट उपसमितिको आइतबार बसेको बैठकले खनालसहित नेपाल बैंकका पूर्वसीईओ कृष्णबहादुर कार्की, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसीको नाम सर्टलिस्टेड गरेको थियो । सीईओ बन्न २० जनाले आवेदन दिएकोमा ५ जनाको नाम छनोट गरी व्यावसायिक कार्ययोजना प्रस्तुति र अन्तर्वार्ताका आधारमा खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय भएको बैंकले जनाएको छ ।
बैंकका तत्कालीन सीईओ किरणकुमार श्रेष्ठले दुई कार्यकाल पूरा गरेर चैत २०८० मा बाहिरिएसँगै ७ वैशाखमा बैंकले सीईओ आवेदन मागेको थियो । खनालले २०४५ सालमा शक्ति मावि पाटेचौरबाट एसएलसी परिक्षा उर्तिण गरेका थिए । द्रव्यशाह बहुमुखी क्याम्पस लक्ष्मीबजारबाट आइकम गरेका उनले काठमाडौंबाट स्नातक तहको शिक्षा हासिल गरेका हुन् । उनले दिल्लीबाट चार्टर एकाउटेन्ट पास गरेका हुन् ।




