
पानपाका सबै वडाहरु ‘पूर्ण खोप सुनिश्चितता वडा’ घोषणा
प्रतीक्षा आले ।
पालुङटार नगरपालिकाको सबै वडाहरु पूर्ण खोप सुनिश्चितता एवं दिगोपना वडा घोषणा भएका छन् । पालिकाको स्वास्थ्य शाखाले गत शुक्रबार पालिका भरका १० वटै वडाहरुलाई पूर्ण खोप सुनिश्चितता एवं दिगोपना वडा घोषणा गरेको हो ।
पालुङ्टारभर खोप लगाउन छुटेका एकजना बालबालिका पनि नभेटिएको पालिकाको स्वास्थ्य शाखाकी जनस्वास्थ्य अधिकृत सृजना पोखरेल बताउँछिन् ।
शाखाले हरेकवर्ष वडाहरुमा पूर्णखोप सुनिश्चितता भए नभएको अनुगमन गरेर वडाहरुलाई पूर्णखोप सुनिश्चितता तथा दीगोपना वडा घोषणा गर्ने गरेको छ । प्रत्येक वर्षको माघ, फागुन र चैत महिनामा पालिकाको सबै वडाहरुले आफ्नो वडाभित्र खोप लगाउन छुटेका बालबालिकाहरुको खोजी कार्य गर्ने र कोही छुटेको भए खोप लगाइदिने गरेको उनले बताइन् । ‘यो अभ्यास प्रत्येक वर्ष हुन्छ’, उनले भनिन्, ‘यो वर्ष पालुङटार नगरपालिकामा खोप लगाउन छुटेका एकजना बालबालिका पनि भेटिएनन्, त्यो हाम्रो उपलब्धी हो ।’
पालुङ्टार नगरपालिकाको सबै वडाहरु पूर्ण खोप सुनिश्चितता एवं दिगोपना वडा घोषणा भएसँगै अब पालिकालाई नै ‘पूर्ण खोप सुनिश्चितता एवं दिगोपना पालिका’ हुने प्रक्रियामा अघि बढेको छ । पालिकाले आफ्नो सम्पूर्ण वडाको विवरण स्वास्थ्य कार्यलयमा बुझाइसकेको जनस्वास्थ्य अधिकृल सृजना पोखरेलले जानकारी दिइन् । ‘हाम्रो सबै वडाहरुको विवरण स्वास्थ्य कार्यलयमा पठाइसकेका छौँ, अबको १—२ दिनमा स्वास्थ्यले अनुगमन गरेर नतिजा पठाउँछ’, उनले भनिन् ।
जिल्ला समन्वय समिति प्रमुखको अध्यक्षतामा बनेको जिल्ला खोप समन्वय समितिले पालिकाहरुलाई पूर्ण खोप सुनिश्चितता एवं दिगोपना पालिकका घोषणा गर्ने गर्दछ । खोप समन्वय समितिले हरेक वर्ष पालिकाहरु भित्र १६ देखि २३ महिनासम्मका बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खाले खोप लगाए÷नलगाएको अनुगमन गरेर पालिकाहरुलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने गरेको छ ।




