
ट्राफिक प्रहरीको राजश्व संकलन दर बर्सेनि बढ्दो, १० महिनामा ६६ लाख रुपैयाँ संकलन
प्रतीक्षा आले मगर ।
ट्राफिक प्रहरीहरुको राजश्व संकलन वर्षेनी बढ्दो क्रममा छ । कार्यालयले गत आर्थिक वर्ष २०७९/८० मा ७६ लाख ३० हजार रुपैँया राजश्व संकलन गरेको थियो । गत वर्ष १० हजार ३ सय सवारी साधहरु कारवाहीमा परेका थिए । यस्तै, कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा ११ हजार २ सय सवारी साधहरुलाई कारबाही गरेको थियो । जसबाट ७२ लाख ९८ हजार रुपैँया राजश्व संकलन भएका थिए । आर्थिक वर्ष २०७७/७८ मा ८ हजार ५ सय सवारी साधनहरुबाट ६० लाख २९ हजार ५ सय राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङकमा उल्लेख गरिएको छ ।
ट्राफिक व्यवस्थापनमा ध्यान दिँदा राजश्वमा समेत बृद्धि आएको जिल्ला ट्राफिक प्रमुख शिव प्रसाद पाठक बताउँछन् । ‘अघिल्लो वर्षहरुको तुलनामा यो वर्ष नियमित जाँच, कारबाही र अनुगमन बढाइएको छ’, उनले भने, ‘कार्यालयले मापसेसँगै लागु पदार्थ सेवन (लापसे) जाँच पनि सुरु गरेको छ ।’ जिल्लाको सदरमुकाम क्षेत्रमा गुड्ने सवारी साधनहरुले बढी मात्रामा ट्राफिक नियम उल्लङघन गर्ने गरेको उनको भनाई छ ।
कार्यालयले आर्थिक वर्ष २०८०/८१ को बैशाख मसान्तसम्ममा ६६ लाख ४८ हजार ५ सय रुपैँया राजश्व संकलन गरेको उनले बताए । १० महिना यता ७ हजार ६ सय १० सवारी साधनहरु कारवाहीमा परेको हुन् । कारबाहीमा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल/स्कुटर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । साउन यता जिल्लाभर ३४ सय ५१ मोटरसाइकल तथा स्कुटर कारबाहीमा परेका छन् । जसबापत कार्यलयले २७ लाख ५६ हजार ५०० रुपैँया राजश्व संकलन गरेको छ ।
यसैगरी, ट्राफिक नियम उल्लङ्घन गर्नेमा धेरैजसो निजी सवारी साधन (कार/जीप) रहेका छन् । ‘सडक नियम उल्लङघन् गर्नेमा निजी सवारी साधनहरु अगाडी छन्’, जिल्ला ट्राफिक प्रमुख शिव पाठकले भने, ‘मोटरसाइकलहरु पछि सबैभन्दा धेरै १८ सय ३८ वटा कार÷जीपहरु कारबाहीमा परेका छन् ।’ उनीहरुबाट १४ लाख ४२ हजार ५०० रुपैँया राजश्व संकलन गरिएको पाठकले बताए ।
१० महिना अवधिमा जिल्लाभर ११ हजार ९८ वटा ट्रक÷ट्रिपर कारबाहीमा परेका छन् । कारबाहीबाट ट्राफिक कार्यलय गोरखाले ९ लाख ८१ हजार ५०० रुपैँया राजश्व संकलन गरेको छ । यस्तै, साउन यता ६ सय ३१ वटा बस र ४ सय ७६ वटा ट्याक्टर कारबाहीमा परेका छन् । उनीहरुबाट क्रमश ९ लाख ८१ हजार ५०० र ३ लाख ५२ हजार राजश्व संकलन गरिएको छ ।
यसैगरी, २६ वटा सवारी साधनहरु दुर्घटनामा परेका छन् । दुर्घटनामा परि ४ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २६ वटा सवारी साधनहरु दुर्घटनामा परेका थिए । जसबाट १९ जनाको मृत्यु भएको थियो ।
सवारी दुर्घटना न्युनिकरणका लागी जिल्ला ट्राफिक कार्यालयले विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । कार्यालयले आर्थिक वर्ष २०८०/८१ यता १६ सय ७ वटा सचेतनामुलक कार्यक्रहरुको आयोजना गरेको छ । जनचेतनामुलक कार्यक्रमहरुले सवारी दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भुमिका खेलेको कार्यालयको भनाई छ । कार्यालयले गत वर्ष जिल्लाभर १३ सय ४० वटा जनचेतनामुलक कार्यक्रमहरु आयोजना गरेको थियो ।




