| मङ्लबार, कार्तिक २४, २०८३

गोनपाका सबै वडाहरु ‘पूर्णखोप सुनिश्चितता तथा दीगोपना वडा’ घोषणा

गोरखा नगरपालिकाको सबै वडा पूर्णखोप सुनिश्चितता तथा दीगोपना वडा घोषणा भएका छन् । बुधबार नगरपालिकाको स्वास्थ्य शाखाले पालिका भित्रका १४ वटै वडाहरुलाई पूर्णखोप सुनिश्चितता तथा दीगोपना वडा घोषणा गरेको हो ।

शाखाले हरेकवर्ष वडाहरुमा पूर्णखोप सुनिश्चितता भए नभएको अनुगमन गरेर वडाहरुलाई पूर्णखोप सुनिश्चितता तथा दीगोपना वडा घोषणा गर्ने गरेको छ । प्रत्येक वर्षको माघ, फागुन र चैत महिनामा पालिकाको सबै वडाहरुले आफ्नो वडाभित्र खोप लगाउन छुटेका बालबालिकाहरुको खोजी कार्य गर्ने र कोही छुटेको भए खोप लगाइदिने गरेको पालिकाको स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले जानकारी दिए ।

सोही आधारमा वडाहरुलाई पुर्ण खेप सुनिश्चितता वडा घोषणा गर्ने उनले बताए । ‘यो कार्य हरेक वर्ष हुन्छ, ३ महिना अवधिमा सबै वडाहरुले आफ्नो वडाभित्र खोप लगाउन छुटेका बालबालिकाहरु भए नभएको पहिचान गरी, उनीहरुलाई खोप लगाई आफ्नो विवरण नगरपालिकामा बुझाउँछन्’, उनले भने, ‘त्यसपछि हामीले सबै वडाहरुको सिम्बोलिक अनुगमन गरेर वडाहरुलाई पूर्णखोप सुनिश्चितता तथा दीगोपना वडा घोषणा गर्ने गरेका छौँ ।’ यो वर्ष नगरपालिकाभित्र २ जना बालबालिका खोप लगाउन छुटेको उनले बताए ।

‘यो वर्ष नगरपालिका भर २ जना बालबालिका आंशिक खोप लगाउन बाँकी रहेको पाइयो’, उनले भने, ‘उनीहरुको तुरुन्तै पहिचान गरी बाँकीको खोपहरु बैशाख महिनाभित्रमा लगाइएको छ ।’ खोप लगाउन छुटेका बालबालिकाहरु बाहिरि जिल्लाहरुबाट बसाइँसराइ गरेर आएका परिवारको रहेको रेग्मीले जनाए । ‘गतवर्षको अनुगमनमा पनि ३ जना पूर्णखोप लगाउन बाँकी रहेको बालबालिकाहरु भेटिएका थिए’, उनले भने, ‘उनीहरु सबै सदरमुकाममा भारतबाट जिल्लामा बसाइसराई गरेर आएका थिए ।’

नगरपालिका अन्तरगतका सबै वडाहरुले आफ्नो वडाभित्र खोप लगाउन छुटेका सबै बालबालिकाहरुको पहिचान गरी बैशाखभित्र सबै बालबालिकाहरुमा पूर्णखोप सुनिश्चित गरेको रेग्मीको भनाई छ । गोरखा नगरपालिकाको सबै वडाहरुलाई पूर्ण खोप सुनिश्चितता एवं दीगोपना वडा घोषणा भएसँगैै अब पालिका ‘पूर्णखोप सुनिश्चितता एवं दीगोपना पालिका’ हुने प्रक्रियामा अघि बढ्दै छ ।

गोनपा आफ्नो सम्पूर्ण वडाहरुको विवरण जिल्ला स्वास्थ्य कार्यालय गोरखामा बुझाउने तयारीमा छ । ‘अब हामीले आफ्नो सम्पूर्ण वडाहरुको विवरण जिल्ला स्वास्थ्य कार्यालयमा बुझाउँछौँ’, नगरपालिका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले भने, ‘त्यसपछि स्वास्थ्य कार्यालयले पुनः नगरपालिकाभित्र अनुगमन गर्छ ।’ कार्यालयले अनुगमन गरेपछि मात्र नगरपालिकालाई ‘पूर्णखोप सुनिश्चितता एवं दीगोपना पालिका’ घोषणा गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्