| आइतवार, कार्तिक २२, २०८३

गोनपामा स्थानीय पथ प्रदर्शक तालिम शुरु

गोरखा नगरवासीलाई लक्षित गरी जिल्ला सदरमुकाममा स्थानीय पथ प्रदर्शक तालिम शुरु भएको छ । गोरखा नगरपालिका र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान ललितपुरको सह लगानीमा वुधवारबाट तालिम शुरु भएको हो ।
तालिममा कुल ४० जनाको सहभागीता रहेको छ । गोरखा होटल संघबाट पाँच जना र बैदेशिक रोजगारीमा गएर फर्केका पाँच जनासहित अन्य व्यक्तिहरुको सहभागीता रहेको नगरपालिका सामाजिक बिकास शाखाका प्रमुख बिजयभक्त उपाध्यायले बताए । ‘तालिममा सहभागीताका लागी आवेदन माग गर्दै हामीले सूचना निकालेका थियौ,’ उनले भने, ‘त्यही आधारमा सहभागीहरु छनोट गरेका हौ ।’
तालिममा सहभागीहरुलाई पर्यटकलाई कसरी ‘गाइड’ गर्ने भन्ने बारे प्रशिक्षण दिइने उनले जानकारी दिए । ‘गोरखा नगरभित्र रहेका पर्यटकीय स्थलहरुको पर्यटकहरुलाई कसरी जानकारी गराउने र त्यस्ता ठाउँहरुबारे कसरी गाइड गर्ने भन्ने कुरा तालिममा सिकाउँछौ । यसले नगरको पर्यटकीय स्थलको प्रचार प्रसारसँगै पर्यटन प्रवद्र्धनमा पनि सघाउ पु¥याउने अपेक्षा छ,’ उपाध्यायले भने ।
उनका अनुसार तालिम आठ दिनसम्म चल्ने छ । छ दिन सैद्धान्तिक र बाँकी दुई दिन प्रयोगात्मक हुने छ । यो आधारभूत तालिम रहेको जानकारी गराउँदै उनले सहभागीहरुलाई यसले पथ प्रदर्शक हुन उन्मुख गराउने बताए ।

तालिम अवधिभर नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका बिभागिय प्रमुख अजय ढकाल, बरिष्ठ अधिकृत नरेश डंगोल, प्राध्यापक डा. मदनकुमार रिमाल, अध्यापक कपिल बन्जरा लगायतले सहजिकरण गर्ने छन् ।

नगरपालिका मेयर कृष्ण रानाको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापाको प्रमुख अतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा गोरखा उद्योग वाणिज्य संघका भगवानबाबु मास्के, गोरखा चेम्वर अफ कमर्सका रामस्वरुप श्रेष्ठ, गैरसरकारी संस्था महासंघ गोरखाका द्रोण तिमिल्सिना, गोरखा होटल संघका निधिप्रसाद तिमिल्सिना, आदिवासी जनजाती महासंघका बिष्णु राना, नेपाल पत्रकार महासंघका नरेन्द्र ढकाल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्