| आइतवार, कार्तिक २२, २०८३

मनास्लु क्षेत्रमा पहिलो पटक हिमचितुवाको गणना

मनास्लु क्षेत्रमा १५ वटा हिमचितुवा रहेको पाइएको छ । बिगत तीन बर्षदेखि गरेको गणनाबाट सानो ठूलो गरी १५ वटा हिमचितुवा रहेको खुलेको हो ।

ग्लोवल चेन्ज रिसर्च इन्स्टिच्यूट अफ चेक एकेडेमी साइन्स र त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान (हेटौडा क्याम्पस) को समन्वयमा डाक्टर बिक्रम श्रेष्ठ र सचित तिमिल्सिनाको टोली सो क्षेत्र पुगेर चितुवाको गणना गरेका हुन् । सन् २०२१ बाट सुरु भएको गणना हालै सकिएको श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार चुम र नुव्री भ्यालीमा १३ वटा वयस्क र २ वटा बच्चा गणना भएको छ । अति लोपोन्मुख रहेको हिमचितुवा मनास्लुलगायत एसियाको १२ वटा देशमा मात्र पाइन्छ ।

नुव्री भ्यालीमा सन् २०२० नोभेम्वर देखि २०२१ जनवरीसम्म हिमचितुवाको गणना गरिएको थियो । चुमभ्यालीमा भने २०२१ डिसेम्वरदेखि २०२२ फेव्रेअरीसम्म गणना भएको थियो ।

गणनाका लागी उनीहरुले चुम र नुव्री दुवैतर्फ ६०÷६० वटा क्यामेरा जडान गरेका थिए । कुल ६ सय वर्ग किलोमिटर क्षेत्रको तस्वीर खिच्ने गरी क्यामेरा जडान भएको श्रेष्ठले जानकारी दिए ।

‘२५ सय देखि ५ हजारसम्म को हाइट भएको ठाउँमा क्यामेरा जडान गरेका थियौ,’ उनले भने । उनका अनुसार चुमभ्याली तर्फ चुम्लिङदेखि मु गुम्वा–कालुङ र नुव्रीतर्फ बिहीदेखि साम्दोसम्म क्यामेरा जडान भएको थियो । उनका अनुसार यसभन्दा अघि सो क्षेत्रमा हिमचितुवाको गणना भएको थिएन ।

१५ वटा चितुवाको संख्यालाई उनले सन्तोषजनक मानेका छन् । ‘अन्नपूर्ण र लाङटाङको करिडोर क्षेत्र मनास्लु भएकाले पनि यहाँ हिमचितुवाको गणना हुनु आवश्यक थियो,’ उनले भने, ‘त्यसैले हामीले यो काम गरेका हौँ ।’ उनका अनुसार अनुसन्धान गरेर डाटा संकलनको काम सकिएको छ । बिश्लेषण गरेर प्रतिवेदन तयार गर्ने काम भने बाँकी छ ।

दुई महिनाभित्र प्रतिवेदन तयार हुने उनले जानकारी दिए । ‘हिमचितुवा को बासस्थान र आहार प्रजातिलाई जोगाउनुपर्ने देखियो, नत्र यो प्रजातिको चितुवा लोप भएर जान्छ,’ उनले भने । हिमाली क्षेत्रको जैविक विविधतालाई सन्तुलित राख्न हिमचितुवाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिन्छ ।

मान्छेलाई हैरान पर्ने जंगली कुकुर, फ्याउरोहरुलाई यसले शिकार बनाउने हुँदा मानव जनजीवनलाई सहयोगीको भूमिका निर्वाह गर्ने मानिन्छ । हिमचितुवा नेपालको अपिनप्पा, हुम्ला, से(फोक्सुण्डो, अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र, लाङ्टाङ राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज र कञ्चनजंघा क्षेत्रमा हिमचितुवा पाइने अध्ययनले देखाएको छ । यो सबैभन्दा धेरै से–फोक्सुण्डो र अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइन्छ ।

यसको सङ्ख्या सगरमाथामा सन् २००६ मा जम्मा ६ वटा रहेकामा २०१५ मा घटेर जम्मा तीनवटा फेला परेको छ । हिमचितुवाको अध्ययन, अनुसन्धान र गणनाले संरक्षित क्षेत्रलाई कहाँसम्म विस्तार गर्ने वा कति साँगुरो बनाउने भन्ने सम्मको आधार तयार पारिन्छ ।

प्रतिक्रिया दिनुहोस्