
लार्के सडक अपडेट : सातबर्षमा ३५ किलोमिटरसम्म सवारी चल्न थाल्यो, न्याकफेदी खण्डमा धमाधम काम हुदै
बेनिघाट आरुघाट लार्के सडक निर्माण गर्न सडक बिभागले नेपाली सेनालाई जिम्मेवारी हस्तान्तरण गरेको सात बर्ष पूरा भई आठौ बर्ष सुरु भएको छ । कूल १५४ किलोमिटरमध्य अति कठिन मानिएको ९२ किलोमिटर खण्ड निर्माण गर्न २०७४ साल वैशाखमा नेपाली सेनालाई हस्तान्तरण भएको थियो ।
नेपाली सेनाले जिम्मा लिएदेखि हालसम्म ३५ किलोमिटर सडकमा सवारी साधन चल्ने भएको छ । हावाडाँडादेखि पाङसिङसम्मको सडकमा सवारी साधन चल्न सक्ने भएको नेपाली सेनाको सडक निर्माण कार्यदलले जनाएको छ ।
अहिले सेनाले कामदारलाई विभिन्न समूहमा विभाजन गरी काम गराइरहेको छ । ‘मुख्यगरी पाङसिङभिरमा जोडदार रुपमा काम भइरहेको छ’, सो सडक खण्डमा काम गरिरहेका नेपाली सेनाका कार्यदलका इञ्चार्ज मेजर विनोद भट्ट भन्छन्, ‘न्याकफेदीभन्दा करिब दुई किलोमिटर माथिसम्म पनि काम भइरहेको छ ।’
बजेट पर्याप्त भएको भए उपकरणहरु न्याकफेदीभन्दा माथिको खण्डमा पनि लगेर तीब्र गतिमा काम हुने उनको भनाइ छ । यसबर्ष सो सडकका लागि सरकारले १० करोड रुपैयाँ उपलब्ध गराएको छ । तिब्बतको सीमाना रुईलासम्मको १५४ किलोमिटरमध्य बेनिघाटदेखि हावाडाँडासम्मको ६२ किलोमिटर खण्ड सडक बिभागले नै निर्माण गरेको थियो । बाँकी ९२ किलोमिटर सडक नेपाली सेनाले काम गरिरहेको हो ।
सेनाको काम लोकप्रिय भएकाले चुम उपत्यकाको सडक पनि नेपाली सेनाले नै बनाउनु पर्ने चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । जताततै विस्फोट गरेर पहाड फुटाई काम गर्नुपर्ने हुँदा यस्तो काम नेपाली सेनलाई जिम्मा दिँदा सहज हुने ठानी सरकाले सो खण्डको काम गर्न सेनालाई जिम्मा दिएको हो ।
३५ किलोमिटर खण्डमध्य धार्चे गाउँपालिकाको केन्द्र माछाखोलामा बेलिब्रिज पनि निर्माण भएको छ । माछाखोलासम्म यात्रुबाहक बस चल्छ भने माछाखोलाबाट पाङसिङसम्मको खण्डमा यात्रुका लागि जीप र सामान ढुवानीका लागि ट्रक र ट्रयाक्टर सञ्चालन हुने गरेको छ ।




