| सोमवार, कार्तिक २३, २०८३

बसाइँ सराइको कहाली लाग्दो दृश्य

पछिल्लो रिपोर्ट अनुसार पेट्रोल, डिजेलको कारोबार बिगत बर्षको भन्दा घटेको पाइएको छ । बजारमा फेन्सी, कस्मेटिक लगायतका सामग्रीको बिक्री पनि बिगत बर्षको भन्दा अहिले कमी आएको छ । यसको कारण खोज्दै जाँदा मोटर गाडी धेरै चलाउने युवाहरु विदेशिएका छन् त्यसैले यसको खपत घटेको भन्ने निश्कर्ष निकालिएको छ ।

फेन्सी तथा कस्मेटिक सामानका उपभोक्ता पनि युवा जमात हुन् । उनीहरु विदेशिएका कारण यहाँका फेन्सी तथा कस्मेटिक सामानको खपतमा कमी आएको भन्ने अनुमान छ । यी दुई उदाहरणजस्तै युवा विदेशिएपछि धेरै संकेतहरु देखिएका छन् ।
अहिले गाउँघर सुनसान छ । युवा जनशक्ति गाउँमा प्राय देख्न रहर छ । कुनै एक पालिका, कुनै विशेष जिल्लाको मात्र यो समस्या होइन । देशभरिको साझा समस्या हो यो ।

खण्डहर हुदै गएको बजारहरुको ज्वलन्त उदाहरण गोरखाको आरुघाट एक हो । १० बर्षअघिसम्म यहाँ करिब चारसय घरधुरी थिए । स्थानीयहरुका अनुसार कुनै घर बन्द थिएनन् । हरघरमा पसल तथा विभिन्न व्यापारिक प्रतिष्ठानहरु थिए । बजार गुल्जार थियो । धार्चे, चुमनुब्री गाउँपालिकाबाट बालबच्चा पढाउन भनेर यहाँ आएर बस्थे । व्यापार, बिजनेस गर्न भनेर बस्थे । गोरखा र धादिङ हुँदै आएका पर्यटकहरुको भीड लाग्थ्यो ।

व्यस्त बजार अहिले सुनसान हुदैछ । बजार स्थापनाका बेला मुख्य बजारका रुपमा रहेको पुरानो बजार अहिले चकमन्न छ । प्राय सबै घर बन्द छन् । कैयौ घरका छाना, गारोहरु भत्किन थालेका छन् । आँगन, करेसाहरु झाडी बनेका छन् । गुल्जार बजार खण्डहर बनेको देख्दा जो कोहीको चित्त काटिने गरेको छ । यस्तो दुरावस्था आउन नदिन नीति निर्माण तहले समयमै सोच बिचार पु¥याउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्