
जेठ १० देखि ‘२१ औँ सवालाख रोट महोत्सव’ हुँदै
२१ औँ सवालाख रोट महोत्सव जेठ १० गतेदेखि हुने भएको छ । गोरखनाथ गुफामा सिद्धाश्रम शक्ति केन्द्र गोरखाले जेठ १० देखि जेठ २० गतेसम्ममहोत्सवको आयोजना गर्न लागेको हो । गोरखनाथ र गोरखकाली मन्दिर परिसरमा नियमित भजन, कृतन, पूजापाठ गरेर सयौँ भक्तजनको उपस्थितिमा रोट महोत्सव हुने सिद्धाश्रम शक्ति केन्द्र सम्पर्क कार्यालय गोरखाका संयोजक किशोरकुमार अकेलाले बताए ।
महोत्सवको पहिलो दिन गोरखा बजारबाट झाँकी सहितको विशाल शोभायात्रा निस्कने बताइएको छ । यात्रापछि झण्डोत्तोलन, ज्योत पूजन, नाथयोगीहरुको वरण लगायतका क्रियाकलापहरु हुने केन्द्रको भनाइ छ । गोरखनाथ गुफामा जेठ १० गतेदेखि नै निरन्तर स्तुति वन्दना, स्तवन पाठ, गुरु गोरखनाथको विशेष पुजा, देवीदेवताको पूजन, विशेष हवन, मन्त्रजप, दिव्य गुरु आरती लगायत भजनकीर्तन र भण्डारा लगायतका कार्यक्रमहरु संचालन हुने केन्द्रले जनाएको छ ।
राजा पृथ्वी नारायण शाहका गुरु गोरखनाथ प्रकट भएको दिनको रुपमा हरेक वर्ष सिद्धाश्रम शक्ति केन्द्रले महोत्सव गरेर रोट अर्पण गर्दै आएको छ । यो वर्ष ७० हजार भक्तजन रोट महोत्सवमा सहभागी हुने र २१ लाख भन्दा बढि खर्च हुने अनुमान आयोजकको छ । रोट महोत्सवमा आउने भक्तजनलाई सिद्धाश्रम शक्ति केन्द्रले खान बस्न निःशुल्क व्यवस्था समेत गरेको छ । रोट महोत्सवले जिल्लाको धार्मिक पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पु¥याउने केन्द्रको भनाइ छ ।
सिद्धाश्रम शक्ति केन्द्रले २०६० सालदेखि हरेक वर्ष निरन्तर महोत्सव गर्दै आएको छ । ११ दिनसम्म चल्ने महोेत्सवमा हरेक दिन १ लाख रोट गोरखानाथ बाबालाई चढाइने गरिन्छ । नयाँ अन्नको पिठोलाई घ्यूमा पकाएर रोट बनाइ गोरखनाथलाई अर्पण गरेर मात्र आफू खाने धार्मिक विश्वास छ । महोत्सवमा नेपालको विभिन्न जिल्लासँगै छिमेकी राष्ट्र भारतबाट पनि ठूलो संख्यामा भक्तजनहरु आउने गर्छन् ।




