
खानेपानीको समस्या समाधान गर्न बोर्डले अग्रसरता लिओस्
यो झुठै सावित होस्, कि, पानीको महत्व दर्शाउनेहरु ‘अबको विश्वयुद्ध पानीको निहुँमा हुन्छ’ भनेर पूर्वानुमान गर्छन् । पृथ्वीको तापमान बढेसंगै हराभरा घट्न थालेको झुठो होइन । माटोको उर्वराशक्ति ह्रास भएको पनि छिपेको कुरा होइन । १० बर्षअघिसंग अहिलेको खोला, नदीको पानीको सतह तुलना गर्ने हो भने पनि डर लाग्ने दृश्य देखिन्छ । छाँगा छहराहरु पनि बिगतसंग तुलना गरेर हेर्ने हो भने चिन्ता लाग्ने दृश्य देखिन्छ ।
यो होइन कि, पानीको स्रोत घट्यो भन्नु एनजीओ, आइएनजीओको हो मा हो मिलाइएको । यथार्थ यो हो कि, अहिले पानीको स्रोत सुक्दै गएका छन् । भएका पानीको स्रोतमा पनि लुछाचुँडी छ । गोरखा सदरमुकाममा खानेपानीको व्यवस्था गरेको पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले निरन्तर पानी उपलब्ध गराइरहेको छ । तर चरम खडेरीले पानी अपुग हुँदा नियमित गराउन सो समितिलाई पनि धौ धौ छ । स्रोत उही, उपभोक्ता बढेको बढै गर्दा अभावले तनाव सिर्जना गर्नु स्वभाविकै छ ।
स्रोत थप गर्न भनेर दरौँदी वृहद खानेपानी आयोजना निर्माण भयो, तर आयोजना सम्पन्न भएको यत्तिका भइसक्दा पनि नियमित पानी उपलब्ध गराउन नसक्नु सो आयोजनाको अकर्मन्यता हो । यो चरम खडेरीका बेला पानीको अभाव खेपेका गोरखा नगरपालिका वडा नं ८ रानीबनका स्थानीयहरु रित्तोगाग्रीसहित सिडिओ कार्यालयमा पुगे । रानीवन क्षेत्रमा पानीको चरम अभाव भएकाले तत्काल समस्या समाधानका लागि अग्रसरता लिन अनुरोध गरे । विरोधको आवाज रानीवनका उपभोक्ताले प्रदर्शन गरे पनि यो अबस्था बाँकी २१ वटै उपभोक्ता समितिहरुको हो ।
पानीको समस्या समाधान गर्न गोरखा नगरपालिकाले खानेपानी बोर्ड गठन गरेको थियो, तर पानीको यो बेथिति समाधान गर्न अहिलेसम्म सो बोर्डले कुनै अग्रसरता लिएको पनि छैन । काम गर्ने भनेको असजिलोकै बेला हो । असहज भएकै बेला हो । सहज परिस्थितिमा त यसै पनि चलिरहन्छ । त्यसैले यो बेला खानेपानी बोर्डले अग्रसरता लिनु उपयुक्त हुन्छ ।




