
मनास्लु क्षेत्रमा वैकल्पिक पदमार्गको टड्कारो खाँचो
मनास्लु क्षेत्र अहिलेको निकै चलेको पर्यटकीय पदमार्ग हो । मनास्लु पदमार्गले चुम उपत्यका र नुब्री उपत्यका समेटेको छ ।
अन्नपूर्ण पदमार्गमा पर्यटकको भीड र सडक पहुँचले त्यसतर्फ पर्यटक कम जान थालेका छन् भने गोरखाको मनास्लु क्षेत्रको मदमार्ग उनीहरुको रोजाइमा पर्ने गरेको छ ।
मनास्लु क्षेत्रमा पनि अहिले सडक निर्माण हुँदै छ । सडक निर्माण सम्पन्न भएपछि पर्यटकले यो पदमार्गलाई पनि छोड्नेछन् । यो बिषयमा सबै जानकार छन् । धुलो उँडाउँदै जीप कुदिरहेको बाटोमा विदेशी पर्यटक रमाउँदै हिँड्न सक्दैनन् । सडक बनेपछि यो अबस्था आउँछ भन्ने बारे नजान्ने, नबुझ्ने कोही पनि छैनन् । अब त्यस क्षेत्रमा बैकल्पिक पदमार्ग बनाउनुपर्छ भनेर सबैले भन्छन् । तर सरकारमा आफ्नो पार्टी नभएको बेला पारेर मात्र यसो भन्छन् । सडक बनेपछि यहाँको पर्यटक सिद्धिन्छ त्यसैले यहाँ वैकल्पिक पदमार्ग बनाउनुपर्छ भनेर प्रतिपक्षमा भएका बेला भन्छन् ।
जब आफै डाडुपन्यू चलाउने ठाउँमा पुग्छन्, तब चुपचाप रहन्छन् । पर्यटनको क्षेत्रमा काम गरिरहेका र यही क्षेत्रमा नै भविष्य देख्नेहरुले व्यक्तिगत रुपमा वा संस्थागत रुपमा लबिङ गरेर सरकारसंग वैकल्पिक पर्यटकीय पदमार्ग बनाउन बजेट तथा कार्यक्रम पार्न लगाउनुपर्दछ । बारपाकबाट रुपिङ्ला पास गरी साविकको सिर्दिबास गाविस प्रवेश गर्ने बाटो अथवा बारपाक, लाप्राक, सिङ्ला, उहिया, जगत, फिलिम हुदै सडक लगेको भन्दा वारि वा पारिको पदमार्ग पनि विकास गर्न सकिन्छ ।
मान्बु, काशिगाउँ, केरौँजा हुदै जगत निस्केर फेरि सडक निर्माण गरेभन्दा पारि पदमार्ग निर्माण गर्नु अति आवश्यक छ । यसका लागि ढिला भइसकेको छ । बैकल्पिक पदमार्गको आवश्यकता र महत्व थाहा भएर पनि, जानेर पनि निर्णय गर्न ढिलाइ किन भइरहेको छ ?




