
गण्डकीको आमाघर कार्यक्रम उत्कृष्ट
आईक्यूमा नेपाल विश्वकै सबैभन्दा पछाडि छ । यसको अर्थ नेपालीको दिमागको स्वास्थ्य, नेपालीको सोच्न सक्ने क्षमताको अबस्था, नयाँनयाँ सिर्जनसिलताको अबस्था, स्मरणशक्तिको अबस्था कुन तहमा छ भन्ने जनाउँछ ।
किन नेपालीहरुको आईक्यूको अवस्था नाजुक भयो भन्ने सवालमा अध्ययन गर्दा बालबच्चा छँदै उसलाई पर्याप्त पोषणको उपलव्धतामा कमी भएको निश्कर्ष निकालिएको छ । यो अध्ययनबाट सुत्केरी आमा र उसबाट जन्मेको नवजात शिशुको स्वास्थ्य अबस्थामा कुनै खराबी आएमा देश विकासमा समेत दुस्प्रभाव पर्ने देखियो ।
आजका बालबच्चा भोलिका राष्ट्रका संवाहक हुन्, उनीहरु स्वस्थ, संवृद्ध भए भने भविष्यमा देशको अबस्था पनि उच्चकोटीको हुनेछ । त्यसैले अहिले सरकारले मातृशिशु सुरक्षा कार्यक्रमका लागि धेरै नै जोड दिइरहेको पाइन्छ ।
यही सन्दर्भमा गण्डकी गाउँपालिकाले मातृशिशुको उचित स्याहार सम्भारका लागि नमूनायोग्य काम गरेको छ । सो पालिकाले चालु आर्थिक बर्षदेखि ‘आमाघर’ परियोजना सञ्चालन गरेको छ । सुत्केरी आमा र उबाट जन्मेको बच्चाको उचित रेखदेख, लालनपालन, उचित पोषण, स्वास्थ्य हेरचाहका लागि पालिकाले आमाघर कार्यक्रम लागु गरेको छ ।
पालिकाभित्र रहेका निम्न आय भएका आमा तथा उनका शिशुलाई उचित पोषण उपलब्ध गराउने, उनीहरुको स्वास्थ्य अबस्था गिर्न नदिन सघन रेखदेख गर्ने कार्य पालिकाले आरम्भ गरेको छ । राम्रा काम जसले, जसबाट देखासिकी गरे पनि हुन्छ । यो कार्य सबै पालिकाहरुका लागि उदाहरणी कार्यक्रम हो ।
सकिन्छ भने यो भन्दा राम्रो, नसके पनि कम्तिमा गण्डकी गाउँपालिकाले कार्यान्वयन गरे जस्तो आमाघर कार्यक्रम अरु पालिकाले पनि लागु गरे आमा र बच्चाको स्वास्थ्य अबस्था सुदृढ हुनेछ ।गण्डकी गाउँपालिकाको उत्कृष्ट कामको सह्राना गर्दै यसलाई अरुले पनि देखासिकी गर्नु मनासिब हुनेछ ।




