| आइतवार, कार्तिक २२, २०८३

सारङ्गी बनाउने र बजाउने तीन महिने तालिम सम्पन्न

जिल्ला सदरमुकाममा संचालन भएकोसारङ्गी बनाउने र बजाउने तीन महिने तालिम सम्पन्न भएको छ । गोरखा नगरपालिकाको समन्वय र मनिराम गाइने स्मृति प्रतिष्ठानको आयोजनामा संचालित तालिमको आइतवार एक कार्यक्रमका बीच समापन गरिएको हो ।
गोरखा नगरपालिका वडा नं ५ र ७ मा बसोबास गर्दै आएका गन्धर्व समुदायलाई लक्षित गरी तालिमको आयोजना गरिएको थियो । तालिम अवधिभर पदम गान्धारीले सहजिकरण गरिरहेका थिए । समापन कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले तालिम संचालनका लागि नगरपालिकाले यो बर्ष पाँच लाख रकम विनियोजन गरेको बताए । ‘सारङ्गी बनाउने र बजाउने तालिम र कर्खा र राग संरक्षणका लागि ५ लाख बजेट बिनियोजन गरेका थियौँ,’ उनले भने, ‘नीति नै बनाएर गन्धर्व समुदायको मौलिकता संरक्षण गर्ने नगरपालिकाको उदेश्य छ ।’ तालिममा महिलाहरुको आकर्षण बढी देखिएको भन्दै उनले खुशी व्यक्त गरे ।

जिल्लामा सारङ्गीको बिकास गरेर पर्यटन प्रवद्र्धन गर्ने उदेश्य समेत रहेको उनको भनाइ छ । पहिलो चरणको कार्यक्रम अन्तरगत सारङ्गी बनाउने र बजाउने तालिम सम्पन्न भएको र दोस्रो चरणमा ‘कर्खा’ र ‘राग’ संकलन र संरक्षण अन्तरगतको कार्यक्रम हुने प्रतिष्ठानका कोषाध्यक्ष हरि गान्धारीले बताए । ‘पहिलो चरणमा तालिम सम्पन्न भयो, अब छिट्टै दोस्रो चरणको कर्खा र राग संकलन कार्यक्रम शुरु गर्छाै,’ उनले भने ।

कर्खा गन्धर्व समुदायले कुनै वीरताको गाथालाई समेटेर गाउने चर्चित गाथा हो । कर्खा संकलनका लागि ९ वटा जिल्लाहरुमा जाने तयारी भइरहेको गान्धारीले जानकारी दिए । कर्खाको संरक्षण, सम्र्बद्धन र प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको बताइएको छ । गन्धर्व समुदायको सास्ंकृतिक एवं ऐतिहासिक महत्व बोकेको कर्खा र रागको संकलन गरी जिल्लामा सारङ्गीको बिकास गर्ने लक्ष्य उनीहरुको छ ।

प्रतिक्रिया दिनुहोस्