
हौसला र प्रोत्साहन प्रगतिको मेरुदण्ड हो
राम्रो व्यक्तिलाई पनि निरन्तर नराम्रो पृष्ठपोषण दियो भने कालान्तरमा खराब बन्छ । नराम्रो प्रवृत्ति भएको व्यक्तिलाई पनि निरन्तर राम्रो पृष्ठपोषण दिइराख्यो भने उसको प्रवृत्ति क्रमशः सुधार हुन्छ र असर बन्छ । यो त प्रयोगसिद्ध भइसकेको तथ्य हो ।
यसको अर्थ सकारात्मक पृष्ठपोषण, प्रसंसा, प्रोत्साहन, प्रेरणा, सही मार्गनिर्देशनले व्यक्ति तथा संस्थालाई निश्चित रुपमा सत्मार्गमा अघि बढाउँछ, सही गन्तव्यमा पु¥याउँछ ।
सहिद लखन गाउँपालिकाले वडा कार्यालयहरुलाई हौसला बढाउन बर्षबर्षमा मूल्यांकन गरेर उत्कृष्ठ घोषणा गर्ने नीति लिएको छ ।नीति कार्यान्वयनका क्रममा पालिकाले यसबर्षको मूल्यांकनमा वडा नं. ७ लाई उत्कृष्ट वडा घोषणा गरेको छ । उत्कृष्ट घोषणा गरेसंगै पालिकाले वडा नं.७ लाई पाँच लाख रुपैयाँ इनाम दिएको छ । यसले वडा नं. ७ लाई थप कार्यगर्न जोश, हौसला प्रदान गर्नेछ । यसका निम्ति वडा नं. ७ का नेतृत्व वडाअध्यक्ष शरण श्रेष्ठसहितका वडाका जनप्रतिनिधि र कर्मचारीहरु धन्यवादका पात्रहरु छन् ।
पालिकाले बिभिन्न इण्डिकेटर बनाएर यो बर्षबाट वडाहरुको कामको मूल्यांकन गर्न सुरु गरेको हो । योजना छनोट, योजना सम्झौता, योजना रकमान्तर, भुक्तानी, सेवा प्रवाह, राजश्व संकलन, बेरुजु, सुशासन लगायतका इण्डिकेटर तयार गरेको थियो । लिजाको विधि र प्रविधिका आधारमा पालिकाको मूल्यांकन हुन्छ । पालिकाले पनि वडाहरुको त्यस्तै मापदण्ड बनाएर मूल्यांकन गरेको छ । सोही मापदण्ड अनुसार वडाले गरेको कार्यसम्पादनको आधारमा अंकभार प्रदान गर्नेछ । चालु आर्थिक बर्षको साउनदेखि चैत्र महिनासम्मको कार्यसम्पादनको आधारमा यो बर्ष वडा नम्वर ७ उत्कृष्ट बन्न सफल भएको उनले जानकारी दिए ।
उत्कृष्ट बने वापत यो बर्ष वडाले थप पाँच लाख बजेट प्राप्त गर्ने गर्नेछ । कार्यसम्पादनको आधारमा उत्कृष्ट बन्ने वडालाई प्रोत्साहन स्वरुप पाँच लाख रकम दिने भन्ने निर्णय गरेका छौँ । त्यो रकम वडाले भौतिक पूर्वाधारमा खर्च गर्नुपर्ने हुन्छ ।
आगामि दिनमा यसरी अरु वडाहरुलाई पनि प्रोत्साहन गर्दै गयो भने अरु वडाहरुले पनि पक्कै प्रगति गर्नेछन् ।




