| सोमवार, कार्तिक २३, २०८३

गोरखा अस्पतालको सेवामा छलाङ

गोरखा सदरमुकामको सरकारी अस्पताल गोरखा अस्पतालले दिनहूँजसो सेवा प्रवाहमा नयाँपन दिइरहेको छ । नयाँ भवनबाट सेवा दिन सुरु गरेपछि अस्पतालले समयअनुसारका विभिन्न सेवा थप पनि गरिरहेको छ । गोरखा अस्पतालमा धेरैबर्षअघि सामान्य चिरफारको काम हुन्थ्यो । तर अस्पताल प्रशासन तथा व्यवस्थापन समितिको अकर्मन्यताले चलिरहेको सेवा सुविधाहरु पनि कटौँती गर्दै लग्यो ।

समयसंगै सेवा, सुविधा थप गर्दै लैजानु पर्नेमा घटाउँदै जानुमा जनशक्ति भएनन्, सामग्रीहरु भएनन्, पूर्वाधारहरु भएनन् भन्ने बहानाहरु अस्पताल प्रशासन र सञ्चालक समितिसंग हुन सक्लान् । तर प्रतिवद्धता, कटिवद्धता, दृढ इच्छाशक्ति सामु यस्ता बहानाबाजी निस्तेज हुन्छ ।

अहिलेको अस्पतालको नेतृत्व र समिति पनि अर्कै ग्रहबाट टिपेर ल्याएको होइन । यहीँका त्यसमा पनि युवा नेतृत्वले पहिलो अनुभवका रुपमा हाँकेको प्रशासन हो । केही नयाँ गर्ने, केही ठूलो काम गर्ने हिम्मत, जोश, जाँगर भए धेरै सम्भावनाहरु हुन्छन् । जसको कमीले यसअघि नभएको प्रगति अहिले भइरहेको छ । त्यसका लागि गोरखा अस्पतालका चिकित्सक टिम, स्वास्थ्यकर्मी टिम, प्रशासन टिम, सञ्चालक समिति टिम सबै धन्यवादका पात्र छन् ।

पछिल्लो पटक गोरखा अस्पतालमा दूरबीनको माध्यमबाट महिलाको पाठेघर निकाल्ने सफल शल्यक्रिया भएको छ । भीमसेनथापा गाउँपालिकाबाट उपचारका लागि आएकी एक महिलाको भिडियो एक्स–रे गर्दा पाठेघरमा १० सेन्टिमिटरको ट्युमर देखिएपछि अस्पतालले दूरबीन प्रविधिबाट शल्यक्रिया गरेको थियो ।

त्यसको केही दिनअघि मलद्वारमा बोत्तल अड्केका बिरामीको सफल शल्यक्रिया गरेको थियो भने त्यो भन्दा केही दिनअघि एक किलोग्राम तौलको ट्युमर निकालिएको थियो । अब अस्पतालमा पित्तथैलीको मृगौलाको पत्थर निकाल्ने, हर्निया, हाइड्रोशिलको शल्यक्रिया पनि गोरखा अस्पतालमै हुने गर्छ ।

त्यस्तै अहिले गोरखा अस्पतालले ल्याब टेस्टको क्षेत्र पनि धेरै विस्तार गरेको छ ।
यस्तै प्रगति अझै धेरै भइरहोस् भन्ने गोरखाबासीको कामना हो । आज जुन, जुन पदमा जो जो भए पनि वा भोलि ती पदमा जो जो आए पनि यो जोश, यो जाँगरमा कमी नआओस्, बरु बढिरहोस् भन्ने कामना ।

प्रतिक्रिया दिनुहोस्