| सोमवार, कार्तिक २३, २०८३

सर्वे एकातिर, काम अर्कातिर गर्नु लज्जाजनक

कतिपय आदरणीयहरुले यति लज्जाजनक काम गर्छन्, जुन अन्यत्र कसैसंग भन्न पनि लाजमर्दो हुन्छ । यसको एउटा उदाहरण अहिले गोरखा नगरपालिका १४ मा भइरहेको छ । गोरखा नगरपालिका–१४ को गोप्लिङफाँटस्थित मस्र्याङदी नदीमाथि मोटरेबल पुल बनाउन ठेक्का सम्झौता भयो, तर बाँधमा पानी तालिएकाले त्यहाँ काम गर्न कठिन हुन्छ भनेर ठेकेदारले स्थानीय नेतागिरीहरुसंग साँठगाँठ गरे ।

नेतागिरीहरुले तालुक कार्यालयहरुसंग चोचोमोचो मिलाए । नभन्दै अहिले डिजाइन, स्टिमेट भएको ठाउँ परिवर्तन गरी ठेकेदारले छानेको ठाउँमा पुल निर्माणको काम धमाधम भइरहेको छ । तनहूँ र गोरखा जोड्ने दुईसय मिटर लम्बाईको उक्त पुल निर्माणका लागि २०७७ भदौ १० गते एलिट कन्स्ट्रक्शन प्रालि काठमाण्डौंसँग सम्झौता भएको थियो । २६ करोड ६३ लागतमा बन्ने उक्त पुल निर्माणको काम २०८० फागुन ९ गते सक्नेगरी सम्झौता भएको थियो । तर अहिले पुलको योजना बलपूर्वक अन्यत्र सारेर काम सुरु गरिएको छ ।

निर्माण कम्पनीले टेण्डर भएको ठाउँबाट करिब ३ किलोमिटर तल तिखेबरस्थित पानी नभएको ठाउँमा पुल निर्माण कार्य सुरु गरेको छ । जहाँ धेरै घरधुरीको बसोबास छ, उनीहरुको प्रयोगका लागि भनेर माग भएको, उनीहरुका लागि भनेर स्वीकृत भएको पुल ठेकेदारले नेताजीहरुसंग साँठगाँठ गरी घरधुरी कम भएको, लाभग्राही कम भएकोतिर बनाउन पाउने गरी परिवर्तन गरिदिएका छन् । पानी भएको ठाउँमा बनाउने भनी माग भए पनि काम भने बाँधमुनि, जहाँ पानी छैन, त्यहाँ धमाधम भइरहेको छ ।

स्थानीयबासीले सँधै उचित ठाउँमा पुल बनाउनु पर्छ भन्दै अहिले भइरहेको कामको बिरोध गरिरहेका छन् । बन्न लागेको पक्की पुल अन्यत्र बनाउन खोजेको बिरोधमा उनीहरु स्थानीय प्रशासन गुहार्न सदरमुकाम पनि आएका थिए । प्रमुख जिल्ला अधिकारीलाई भेटेर उनीहरुले टेण्डर भएकै ठाउँमा पुल निर्माण गर्न आग्रह गरे ।
एक ठाउँका लागि स्वीकृत पुल अर्को ठाउँमा बनाउनु लज्जाजनक छ ।

प्रतिक्रिया दिनुहोस्