| आइतवार, कार्तिक २२, २०८३

गोरखकाली रबर उद्योगमा सुरक्षा व्यवस्थाको खाँचो

गोरखकाली रबर उद्योग गोरखाको सान त हुँदै हो, नेपालकै सान यो अर्थमा हो कि, यो नेपालकै एक मात्र टायर उत्पादन गर्ने कम्पनी हो । यद्यपि यो उद्योग बिगत आठबर्षदेखि पूर्ण रुपमा बन्द अबस्थामा छ । यहाँ कार्यरत मजदुर, कर्मचारी सबैलाई दिन बाँकी पारिश्रमिक दिएर विदा गरिसकिएको छ ।

अहिले यहाँ तीनजना सुरक्षा गार्ड छन् । सयौं रोपनी क्षेत्रफलमा फैलिएको रबर उद्योगको सुरक्षामा तीनजना सुरक्षाकर्मीले आलोपालो गरी ड्युटी बस्दा अगाडितर्फको गेटमा मात्र बसेको पाइन्छ । मुलगेटमा मात्र गार्ड बसेर उद्योगको सारा क्षेत्रको सुरक्षा हुन सक्दैन ।

गोरखकाली रबर उद्योग राष्ट्रिय सम्पत्ति हो । यो पुनसञ्चालनै गर्न नसकिने अबस्थामा छैन । यन्त्र, उपकरणलाई मर्मतसम्भार र पुनर्ताजगी गराएमा यो उद्योग पुन सञ्चालन सम्भव छ । त्यसैले, यहाँ रहेका यन्त्र, उपकरणहरु, तार, लगायतका विभिन्न सामानहरुको संरक्षण गर्नु जरुरी छ ।

उद्योग बन्द छ । बन्द भए पनि सुरक्षाको बन्दोबस्त छैन । भद्रगोल छ । उद्योग पुनसञ्चालन गर्ने भनेर चुनावी मुद्दा बनाउँछन् । चलाउन त चलाउँदैनन्, संरक्षण गर्न पनि सकेका छैनन् । अस्तव्यस्त रहेको उद्योगबाट तामाको तार चोरी गरेको आरोपमा प्रहरीले केही दिनअघि दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गत बिहिबार उनीहरुले उद्योगको मेसिनमा जडान भएको तामाका तारहरु चोरी गरी गुप्तालाई बेचेको थियो ।

यो राष्ट्रिय सम्पत्ति हो । यसको सुरक्षा र संरक्षण गर्नु राज्यको दायित्व हो । त्यसका लागि पालिका सरकार, जिल्ला प्रशासन, प्रदेश तथा संघ सरकारले चासोका साथ हेर्नुपर्छ । साथै आफ्नो भौगोलिक क्षेत्रमा नपरे पनि गोरखकाली रबर उद्योगको सुरक्षा दिनु आम नागरिकको चासोको विषय हो ।

प्रतिक्रिया दिनुहोस्