| आइतवार, कार्तिक २२, २०८३

बजारमा आउन थाल्यो शहिद लखनको ‘कोसिस’ प्याड

शहिद लखन गाउँपालिका–५ को महिला समूहले गाउँमै सेनेटरी प्याड उत्पादन गरेर बिक्री गर्न थालेका छन् । महिलाहरु आवद्ध रहेको नवपालुवा कोसिस महिला सेनेटरी प्याड व्यवसायी संघले मनकामनाको जुम्ली चौतारामा प्याड उद्योग संचालन गरेका छन् ।

विपन्न वर्गका महिलाहरुको जिविकोपार्जनमा सघाउ पु¥याउने उद्देश्यले उद्योग संचालन गरेर प्याडको बिक्री वितरण थालिएको संघकी अध्यक्ष गिता परियारले बताइन् । संघमा आवद्ध महिलाहरुलाई नेपाल दलित महिला उत्थान संघ (एड्वान) ले गत असोजमा सेनेटरी प्याड उत्पादन सम्बन्धी सात दिने प्रशिक्षण तालिम प्रदान गरेको थियो । ‘एडवानको तालिमपछि हामीहरुले पनि गाउँमै सेनेटरी प्याड उत्पादन गर्ने निधो ग¥यौँ’, परियारले भनिन्, ‘गत माघबाट एडवान संस्था र वडा कार्यालयकोे आर्थिक सहयोगमा उद्योग संचालन गरेका हौँ ।’

उनका अनुसार उद्योगबाट हालसम्म करिब ५ हजार थान सेनेटरी प्याड उत्पादन भइसकेको छ । स्थानीय बजारमा बिक्री वितरण समेत हुन थालिसकेको उनले जानकारी दिइन् । आफ्नो उत्पादनलाई उनीहरुले ‘कोसिस प्याड’ भनेर नामाकरण गरेका छन् । उपयोग गर्नेहरुबाट राम्रो प्रतिक्रिया आएपनि कच्चा पदार्थ अभावमा उत्पादनमा बृद्धि गर्न नसकिएको उनको भनाइ छ ।

‘कच्चा पदार्थ एडवानले काठमाण्डौँबाट पठाउने हो । प्याडको बाहिरी कभरपनि बाहिरबाटै आउने भएकाले उत्पादन गरेर बजारसम्म पु¥याउन अलि ढिलो भइरहेको छ,’ उनले भनिन् । कभर लगायतका सामाग्रीहरु उद्योगबाटै उत्पादन गर्ने योजना रहेको बताइएको छ । उनीहरुले उत्पादन गरेको प्याड प्रति प्याकेट ७० रुपैयाँमा बिक्रि हुने गरेको छ ।

संघले प्याडको बजारीकरण गर्न गाउँपालिकासँग पनि समन्वय गरीरहेको छ । ‘कोसिस’ प्याडलाई विस्तारै ब्रान्डिङ गरेर जिल्लाका सबै स्थानिय तहहरुमा पु¥याउने लक्ष्य रहेको संघकी अध्यक्ष परियारले बताइन् ।

प्रतिक्रिया दिनुहोस्