| सोमवार, अशोज ११, २०८३

विद्यार्थी पोशाकमा एकरुपताको निर्णय कार्यान्वयनमा जटिलता

प्रतीक्षा आले मगर:
गोरखा नगरभित्रका सबै बिद्यालय (सामुदायिक तथा निजी) मा बिद्यार्थी पोशाक एउटै बनाउने नगरपालिकाको निर्णय कार्यान्वयनमा जटिलता देखिएको छ । अधिकांशले उक्त निर्णयको आलोचना गरेका छन् । गत चैत्र महिनामा बसेको नगर शिक्षा समितिको बैठकले शैक्षिक सत्र २०८१ बाट सबै बिद्यालयको बिद्यार्थी पोशाक आकासे निलो वा सेतो रंगको सर्ट र निलो रंगको पाइन्ट वा स्कर्ट हुनुपर्ने निर्णय गरेको हो ।

निर्णय व्यवहारिक नभएको भन्दै अधिकांशले असन्तुष्टी व्यक्त गरेका छन् । निजी तथा आवासीय विद्यालय एसोसिएसन (प्याब्सन) का जिल्ला अध्यक्ष कमल थापाले नगरपालिकाको उक्त निर्णय अव्यवहारिक भएको बताए । उक्त निर्णयले बिद्यार्थीलाई आर्थिक भार मात्र थपिने उनको भनाइ छ । ‘यो निर्णयलाई सकारात्मक लिन सकिएला तर, एकैचोटी पुरानो पोशाक विस्थापित गरेर नयाँ बनाउन पनि गाह्रो छ,’ उनले भने । निर्णय तत्काल कार्यनव्यन गर्न सक्ने वातावरण नरहेको धारण उनले व्यक्त गरे । कानुन व्यवसायी स्थानेश्वर दवाडी पनि निर्णयको विपक्षमा छन् ।

निर्णय गलत भएको भन्दै उनले अभिभावकहरुको हित विपरित रहेको बताए । ‘यो निर्णयले अभिभावकहरुमा अनावश्यक आर्थिक भार थप्ने वाहेक अरु केही हुदैँन,’ उनले भने । व्याब्सनका सल्लाहकार समेत रहेका ओल्ड क्यापिटल माविका प्रधानाध्यापक जनक केसीले नगरपालिकाले एकतर्फी निर्णय गरेको आरोप लगाए । निजी विद्यालयहरुको सल्लाह सुझाव समेत नलिएको भन्दै उनले असन्तुष्टी व्यक्त गरे । उक्त निर्णयप्रति आपत्ति जनाउँदै उनले भने, ‘हरेक विद्यालयको आ–आफ्नो पोशाक र पहिचान हुन्छ । यो निर्णयले विद्यालयहरुको पहिचान नै खोसिन्छ ।’

विद्यालय पोशाकले पठन पाठनमा कुनै असर नगर्ने उनको भनाइ छ । उक्त निर्णय स्टन्टबाजीका लागी मात्र भएको उनको आरोप छ । गोरखा नगरपालिका–६ छहरेस्थित बालमन्दिर माविका प्रध्यानध्यापक शिव बहादर थापाले पोशाकमा एकरुपता ल्याएर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्छु भन्नु गलत भएको बताए । विद्यालय पोशाकले शैक्षिक गुणस्तर सुधारमा कुनै भुमिका नखेल्ने उनको भनाई छ । ‘अहिले हाम्रो बिद्यार्थीको पोशाक नगरपालिकाले भनेको सँग मिल्दैन,’ उनले भने, ‘यहाँ गरिव तथा अनाथ बालबालिकाहरु पनि पढ्छन्, उनीहरुको हकमा नयाँ पशोक जुटाउन मुश्लिक छ ।’

यता गोरखा नगरपालिका–९ महालक्ष्मी माविका प्रधानाध्यापक चुडामणि काप्रीले अभिभावकहरुमा आर्थिक भार थपिएपनि निर्णयलाई सकारात्मक रुपमा लिनुपर्ने बताए । ‘हाम्रो माग एकरुपता हुनुपर्छ भन्ने हो’, उनले भने, ‘यो निर्णयले शैक्षिक सुधारको पाटोमा फरक पर्दैन तर विद्यार्थीहरुको मानसिक विभेदको भावना भने हट्ने छ ।’ निर्णयको अहिले मिश्रित प्रक्रियाहरु आइरहेका छन् । धेरैले यसको बिरोध पनि गरिरहेका छन् । आलोचना बढेपछि नगरपालिका स्वयम निर्णयबाट पछि हट्दै कम्तीमा हप्ताको दुई दिन नगरपालिकाले तोकेको पोशाक अनिवार्य रुपमा लगाउनु पर्ने भन्न थालेको छ । नगर शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्काले सो कुरा बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्