| सोमवार, कार्तिक २३, २०८३

बसपार्कमा भएको लगानी व्यर्थ जान नदेउ

सवारीको चाप बढेसँगै जिल्लामा पार्किङको उचित व्यवस्थापन चुनौतीको बिषय बन्दै आएको छ । भौगोलिक हिसावले पनि तराई जस्तो फराकिलो पार्किङ स्थल भेट्न गोरखामा मुश्किल नै छ । भएका भिरपाखालाई सम्याउँदै पार्किङ स्थल निर्माण गर्नुपर्ने अवस्था छ ।

जथाभावी पार्किङले सवारी व्यवस्थापनमा चुनौती थपिरहेको बेला निर्माण भएको बसपार्क प्रयोगविहीन हुनु अर्काे समस्या हो । दुई करोडभन्दा बढी रकम खर्चेर चार बर्ष अघि डण्डिडाँडामा बनेको बसपार्क हालसम्म संचालनमा नआउनु दुखद हो । यसले सरकारको लगानी मात्र व्यर्थ बनाएको छैन, बजार क्षेत्रको पार्किङ समस्यालाई झन् बल्झाएको छ ।

हुन त बसपार्क मात्र बनेर हुदैन, त्यसका लागी आवश्यक पूर्वाधारहरु पनि निर्माण हुनु जरुरी हुन्छ । बसपार्कसम्म पुग्ने सडक, पार्किङ स्थलमा चमेना गृह तथा खाजा घर र यातायात मजुदरहरु बस्नका लागी होटल तथा लजहरु पनि आवश्यक पर्छन् । अर्को सुरक्षाको प्रत्याभूति पनि हुुनुपर्छ । डण्डिडाँडामा बनेको बसपार्कमा यी कुराहरुको अभाव खड्किएकै छ । बसपार्क संचालनमा ल्याउनका लागी यी आवश्यकताहरु पनि पूर्ति गर्नु जरुरी देखिन्छ ।

डण्डिडाँडाको बसपार्कले यातायात क्षेत्रलाई मात्र जोडेको छैन । सो क्षेत्रको कृषि, उद्योग र व्यापार व्यवसायलाई पनि समेटेको छ । बसपार्क संचालनमा आए सो क्षेत्र चलायमान मात्र होइन त्यहाँका स्थानीयको आर्थिक स्तरमा पनि बृद्धि हुनेमा दुइ मत छैन । यता बजारको अव्यवस्थित पार्किङलाई थप व्यवस्थित गर्न पनि सहयोग पुग्छ । त्यसैले बनेको बसपार्कलाई संचालनमा ल्याउन सम्बन्धित निकायले तदरुपता देखाउनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्