
बहुउदेश्यीय भवन अलपत्र नबनोस्
बिभिन्न उदेश्य राखेर जिल्लाको बिभिन्न स्थानीय तहमा बनाइएका अधिकांश संरचनाहरु अहिले अलपत्र छन् । उदेश्य अनुरुप त्यसलाई प्रयोग गर्न सम्बन्धित निकायहरु असफल बन्दै आएका छन् । कमजोर व्यवस्थापन पक्ष र रणनीतिक योजनाको कमी यसका प्रमुख कारक हुन् ।
भिमसेन थापा गाउँपालिकाको वगुवामा ३० लाख खर्चेर बनेको तरकारी संकलन केन्द्र हालसम्म प्रयोगमा छैन । गोरखा नगरपालिकाको डण्डीडाँडामा दुई करोड खर्चेर बनेको बसपार्कको अवस्था उस्तै छ । शहिद लखन गाउँपालिकाले बर्षेनी रकम विनियोजन गर्दै संचालनमा ल्याएको हाट बजार चल्न छाडिसक्यो । यी प्रतिनिधिमूलक केही उदाहरणहरु मात्र हुन् । प्रयोगमा ल्याउन नसकेर अलपत्र बनेका यस्ता धेरै संरचनाहरु जिल्लामा छन् ।
गोरखा नगरपालिकाको विपिचोक नजिकै बनेको बहुउदेश्यीय भवनको कुरा गरौ । बजार क्षेत्रको व्यवसायलाई व्यवस्थित गर्ने उदेश्य सहित पाँच करोडभन्दा बढी रकम खर्चेर भवन बनाइयो, तर तीन बर्षदेखि भवन प्रयोगविहीन छ । कुल ३६ सटर मध्ये अधिकांश खाली छन् । बहुउदेश्यीय भवनले व्यवसायीको मन जित्न नसक्नुको पछाडी धेरै कारण छन् । एक त सटर भाडा महँगो छ ।
अर्काे भाडामा बस्ने व्यवसायीलाई पानी, बिजुली जस्ता अत्याआवश्यक सेवा सुविधा छैन । बिजुली नभएको सात महिना भइसकेको भन्दै व्यवसायीहरुले गुनासो गर्दै आएका छन् । तर पनि नगरपालिकाले त्यसतर्फ चासो दिएको छैन ।
उदेश्य अनुरुप भवनको प्रयोग गर्न नगरपालिका असफल बनेकै हो ।
तरकारी फलफुल र माछा मासुका पसलहरुलाई त्यही भवनमा एकीकृत गर्ने गरी योजना बनाएर कार्यान्वयन गरे सटरहरु खाली बस्ने थिएनन् । सहुलियत दरमा भाडा लिने हो भने पनि व्यवसायीहरु आकर्षित हुने थिए । भवन बनाए भनेर मख्ख परेर मात्र हुदैन रणनीतिक योजना सहित त्यसलाई प्रयोगमा ल्याउन सक्नुपर्छ ।




