
गोरखा अस्पताललाई एम्वुलेन्स र गोरखा नगरपालिकालाई बस सहयोग
गोरखा अस्पताललाई भारत सरकारले एम्वुलेन्स सहयोग गरेको छ । अनुदानमा ‘बि’ स्तरको एम्वुलेन्स सहयोग प्राप्त भएको अस्पतालले जनाएको छ । गत फागुन २८ गते भारतीय दूतावास र अस्पतालबीच एम्वुलेन्सको बिषयमा सम्झौता भएको थियो । सोही सम्झौता अनुसार आइतवार एम्वुलेन्स प्राप्त गरिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष लालप्रसाद श्रेष्ठले बताए ।
एम्बुलेन्स प्राप्त भएसँगै बिरामी ओसार प्रसारमा सहज हुने उनले जानकारी दिए । त्यस्तै भारत सरकारले गोरखा नगरपालिकालाई बस सहयोग गरेको छ । आइतवार काठमाडौंस्थित भारतीय दूतावासमा आयोजित एक कार्यक्रमकाबीच नगरपालिकालाई बस हस्तान्तरण गरिएको हो । बिद्यार्थी ओसार प्रसार गर्ने प्रयोजनका लागी बस प्राप्त भएको गोरखा नगपालिकाका मेयर कृष्ण रानाले बताए ।
उक्त बस नगरभित्रका कुनै एक सामुदायिक विद्यालयलाई हस्तान्तरण गरिने उनले जानकारी दिए । ‘बस प्राप्त गरेका छौँ, आवश्यकको आधारमा एउटा सामुदायिक विद्यालय छनोट गरेर बस हस्तान्तरण गर्छाै’, उनले भने । आइतवार एक कार्यक्रमका बीच अर्थमन्त्री बर्षमान पुन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा बस र एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । भरतीय दुताबासले आइतबार देशभरका बिभिन्न संघसंस्थालाई ३५ एम्बुलेन्स र ६६ वटा बस उपलब्ध गराएको हो ।




