| आइतवार, कार्तिक २२, २०८३

कोरियन डाँडाको ४२ रोपनी जग्गा र संरचना १५ बर्षदेखि अलपत्र

प्रतीक्षा आले मगर :
२०५४ सालतिर दक्षिण कोरियाको एक प्रतिष्ठित ‘डोङसान मेडिकल संस्थान’ गोरखा नगरपालिका ११ को एक डाँडामा अत्याधुनिक सेवासहितको उच्च गुणस्तरको अस्पताल स्थापना गर्न आयो । करिब ४२ रोपनी जग्गा खरिद ग¥यो र त्यहाँ दुईवटा भवनहरु पनि निर्माण ग¥यो । उनीहरुले त्यहाँ ‘हेल्थ प्याराडाइस् सेन्टर’ नामक स्वास्थ्य संस्था संचालन गरे ।

चार पाँच बर्षसम्म राम्रो सेवा पनि सञ्चालन ग¥यो । ‘हेल्थ प्याराडाइस् सेन्टर संचालनमा आएपछि केही समय निकै राम्रोसँग चल्यो’, वडाअध्यक्ष रामबहादुर खड्काले भने, ‘त्यहाँ कोरियन डाक्टरहरु पनि काम गर्दथे । संस्था संचालनमा आएपछि कोरियन डाँडामा निकै चहलपहल बढेको थियो । स्थानीयबासीले त्यो ठाउँलाई नै कोरियनडाँडा भन्न थाले ।’ तर दातृसंस्थाले बीचैमा छोडेपछि अहिले कोरियनडाँडा अस्तब्यस्त रहेको उनको भनाइ छ ।

दातृ संस्थाले छाडेपछि कोरियनडाँडा पनि मुक्ति बाल आश्रम जस्तै लथालिङ्ग बनेको छ । दुवै भवन अलपत्र छन् । ‘यो कोरियन डाँडामा स्वास्थ्य संस्थाको उद्घाटन हुँदा डोङ्सान मेडिकल संस्थानका उपाध्यक्ष, राजदूतलगायत आउनु भएको थियो’, स्थानीय तुलसी देवकोटा भन्छन्, ‘यसलाई त डोङ्सान मेडिकल संस्थानको शाखा नै बनाउने कुरो थियो । तर, राम्रो काम गर्नेलाई देशले लखेट्यो ।’ उनका अनुसार तत्कालीन माओवादी जनयुद्धका कारण सो संस्थान काम गर्न नसकी छाडेर गएको थियो ।

‘कोरियनहरुलाई सँधै धम्क्याउने, चन्दा माग्ने इत्यादि हुन थाल्यो । जनआन्दोलनकै समयमा केही अज्ञात समूहले हेल्थ प्याराडाइस् सेन्टरमा आगो लगाइदिए । पछि उनीहरु डराएर संस्था नै छाडेर गए’, देवकोटाले भने । काम गर्ने वातावरण नभएपछि उनीहरु काम छाडेर गएको वडाअध्यक्ष रामबहादुर खड्का बताउँछन् । ‘त्यतिबेला देश जनयुद्धको चरम उत्कर्षमा थियो’, गोनपा ११ का वडा अध्यक्ष राम बहादुर खड्काले भने, ‘उनीहरुलाई सुरक्षा पनि भएन, काम गर्ने आधार पनि पाएनन् त्यसैले संकटकालकै समयमा उनीहरु स्वास्थ्य केन्द्र छाडेर गए ।’ कोरियन संस्थाले हेल्थ प्याराडाइस् सेन्टर छाडेपछि संस्था टुहुरो बनेको उनको भनाइ छ ।

कोरियनहरुले संस्था छाडेको केही समयपछि संकटकाल पनि सकियो । हेल्थ प्याराडाइस् सेन्टरमा धेरै संस्थाको आँखा पुग्यो । लथालिङग बनेको सो संस्थान २०६५ सालतिर पुनस्थापना गर्न पहल पनि नभएको होइन । हेल्थ प्याराडाइस् सेन्टरका संस्थापक उपाध्यक्ष समेत रहेका स्थानीय तुलसी देवकोटा र अन्य संस्थापक पदाधिकारीहरु मिलेर गोरखाका मेडिकल व्यवसायी बिनोद गुरुङलाई पुनः स्वास्थ्य संस्था संचालन गर्नका लागि सेन्टर जिम्मा लगाएका थिए । तर गुरुङले जिम्मा लिएपछि रहस्मय ढंगले सो संस्थानको भवनमा पुनआगजनी भयो ।

त्यसपछि सो संस्था व्युँतिन नसक्ने गरी भासमा पुगेको देवकोटाको भनाइ छ । गुरुङले आफूले जिम्मा पाए राम्रोसंग चलाउँछु भनेर बारम्बार जिद्दी गरेपछि उनको जिम्मा सुम्पिएको उनी बताउँछन् । ‘कोरियनहरु गएपछि संस्था अपराधीहरु लुक्ने ठाउँ बन्यो’, देवकोटाले भने, ‘संस्था टुहुरो हुनुभन्दा बरु मेडिकल चलाइरहेकालाई जिम्मा दियो भने चलाउला नि भनेर संस्था जिम्मा लगाएका थियौँ । उनीसँग स्वास्थ्य उपचार गर्ने सबै उपकरणहरु पनि थिए । मेडिकल संचालन गर्दै आएको पनि छ, राम्रौसँग चलाउँला भन्ने लागेर उसैलाई जिम्मा दिएका थियौँ । हामीहरुलाई त जो आएपनि राम्रोसँग स्वास्थ्य संस्था चलाइदिए पुग्थ्यो । त्यतिबेला यातायातको पनि राम्रो सुबिधा थिएन, सामान्य स्वास्थ्य सेवा लिन पनि गोरखा बजार पुग्नु पर्ने अवस्था थियो । त्यसैले जिम्मा दियौँ ।’

कोरियनहरुले संस्था चलाउँदो ऋण पनि तिर्न बाँकी थियो । सबै ऋणहरु गुरुङले नै चुक्ता गर्ने सर्तमा संस्थापकहरुले गुरुङलाई संस्थाको जिम्मा लगाएका थिए । मेडिकल व्यवसायी बिनोद गुरुङले २०६६ सालतिर हेल्थ प्याराडाइस् सेन्टर कागजी रुपमा पनि आफ्नो मातहत्मा लिएका स्थानीयबासी बताउँछन् । गुरुङले केही समय राम्रौसँग संस्था संचालन गरेका थिए । बिनोद गुरुङले करिब २ वर्ष संस्था चलाएर अहिले अलपत्र पारेर छाडेको स्थानीयबासीको भनाइ छ ।

सोही बीच अस्पतालमा पुन आगलागीको दुर्घटना घटेपछि फेरि बिनोद गुरुङ पनि संस्था छाडेर गएको स्थानीयहरुले बताएका छन् । त्यसपछि विगत एक दशकभन्दा पहिलेदेखि अस्पताल बन्द भएको छ । करिब ४२ रोपनी क्षेत्रफल रहेको कोरिन डाँडा स्थित मेडिकल संस्था अहिले अलपत्र छ । यस विषयमा जान्न, बुझ्न विनोद गुरुङको मोबाइल नंबरमा धेरै पटक फोन गर्दा रिसिभ हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्