| सोमवार, कार्तिक २३, २०८३

नयाँ बर्ष २०८१ संग गर्न सकिने आशा

भनिन्छ, बुढापाका बिगत सम्झेर बाँच्छन्, युवायुवती आगत कल्पेर बाँच्छन् । शनिबारदेखि नयाँबर्षको अराम्भ भएकोछ । बिगतका नकारात्मकताको न्यूनिकरण होओस् र आगत सुमधुर बनोस्, सुखद बनोस्, सकारात्मक बनोस् भन्ने कामना गर्दै आमनेपालीले नयाँ बर्ष मनाएका छन् ।

बिगत बर्ष २०८० मा एकैबर्षमा तीनफेर फरक फरक सरकार बन्यो । स्थिर सरकार, शक्तिशाली सरकार चाहिरहेका बेला एकैबर्षभित्र तीन फरक फरक सरकार बन्नु दुखद हो । त्यतिमात्र होइन, बनेका तीनवटै सरकार अत्यन्त कमजोर धरातलमा बन्यो । ठूला र महत्वपूर्ण निर्णय गरेर कार्यान्वयन गर्न सक्ने तागत रहेन ।

देशको राजनीतिक अबस्था अत्यन्त कमजोर रहेको, विकास र संवृद्धिभन्दा भ्रष्टाचार, कुशासन व्यप्त भएकाले देशभित्र भविष्य नदेखेर युवा जमात विदेशिने, विदेशमै पलायन हुने प्रवृत्ति बर्ष २०८० मा पनि मौलायो । बलियो सरकार बनोस्, देशमा विकास र संवृद्धि आओस् भनेर कामना, चाहना राख्ने गरेको दशकौँ भएको छ । तर कुनै नयाँबर्षले नयाँपन खासै ल्याएको कसैले भोगेका छैनन् तर पनि त्यस्ता कामना गर्न भने छोडिएको छैन ।

आशा, कल्पनाले जीवनलाई आशावादी बनाउँछ । त्यसैले मिठोमिठो कल्पना गर्नु, राम्रो राम्रो कामना गर्नु मानवीय गुण हो । नयाँबर्षले देशलाई नयाँ बनाउनेछ भन्ने पक्कै सबैले विश्वास लिएका छन् । सदियौंको पुरानो संरचनाको अन्त्य भएर अधिकार सम्पन्न नयाँ स्थानीय तहको स्थापना भएको छ । स्थानीय तहले दुईपटकसम्म जनप्रतिनिधि पाएको छ । जनप्रनिधिहरु आएर धमाधम काम गरिरहेका छन् । स्थानीय सरकार अत्यन्त प्रभावकारी हुनुपर्नेछ ।

नयाँबर्ष २०८१ मा देशले आशावादी राजनीति पाओस् । बलियो र स्थिर सरकार पाओस् । जनप्रतिधि, शीर्ष राजनीतिक नेताहरु पूर्व राजपरिबार झैँ चोरी, तस्करीमा नलागुन् । कार्यकारी पदमा रहेका तथा उनीहरुका सहयोगी, आसेपासेहरु पद र शक्तिको दुरुपयोग गरी अकूत सम्पत्ति कमाउनतर्फ नलागुन् । नयाँ पुस्तालाई देशमै राख्न सफल होओस् । देशमा गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीको वातावर बनोस् । शुभकामना ।

प्रतिक्रिया दिनुहोस्