| मङ्लबार, कार्तिक २४, २०८३

वायु प्रदूषणको दुस्प्रभाव बढ्दै, घरबाहिर धेरै ननिस्कन डाक्टरको सुझाव

प्रतीक्षा आले :
केही दिन पानी नपरे वायु प्रदूषण अझैँ बढ्न सक्ने जिल्ला स्वास्थ्य कार्यलय गोरखाका जनस्वास्थ्य अधिकृत नवराज खड्काले बताएका छन् । अहिले विश्वव्यपी रुपमा वायु प्रदूषण बढ्दो छ । जिल्लामा पनि यसको दुश्प्रभाव देखिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले वायु गुणस्तर सूचकांक (एक्यूआई) १५० भन्दामा माथि पुग्दा वायुलाई अस्वस्थ मान्छ ।
‘एयर क्वालिटी इन्डेक्स’का अनुसार बिहिबार गण्डकी प्रदेश आसपासको क्षेत्रहरुको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७३ पुगेको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार बुधबार गण्डकी प्रदेश क्षेत्रको एक्यूआई १५५ पुगेको थियो भने गत मंगलबार १५० रहेको थियो ।

केहीदिन यता गोरखा सदरमुकाम लगायत बजार क्षेत्रहरु र समग्र जिल्लामा पनि वायु प्रदूषणको प्रत्यक्ष असर देखिएको छ । वायु प्रदूषणको असर नेपाल जस्तो बिकासन्मुख देशमा अझ् बढी देखिने जिल्ला स्वास्थ्य केन्द्र गोरखाका जनस्वास्थ्य अधिकृतखड्का बताउँछन् । ‘जिल्लामा वायु प्रदुषणको मुख्य कारण डँढेलो हो’, उनले भने, ‘केहीदिन यता पानी नपरेको कारण पनि मौसम खुल्न सकिरहेको छैन् ।’ वायु प्रदुषणको अर्को मुख्य कारण सवारी साधन रहेको खड्काको भनाइ छ ।

उनी भन्छन्, ‘अहिले सडकमा सवारी साधानहरुको चाप बढ्दो छ । डिजेल तथा पेट्रोलबाट चल्ने सवारी साधनहरुले कार्वाेनमोनोअक्साइड नामक ग्याँस उत्पादन गर्छ जसको कारण पनि वायु दुषित् बनेको हो ।’ निजी सवारी साधनहरुको बढ्दो सङख्याका कारण पनि वायु प्रदूषण बढेको उनले बताए । यसैगरी, पुराना सवारी साधानहरुले बढी मात्रमा धुँवा उत्पादन गर्ने हुँदा पुराना साधनहरुको प्रयोगमा प्रतिबन्ध लगाउनु पर्ने उनको भनाई छ ।

जलवायु परिवर्तन, क्रसर र उद्योग कलकारखानाहरु पनि वायू प्रदुषणका मुख्य कारक हुन् । त्यस्तै, प्लास्टिकजन्य बस्तुको प्रयोगले पनि वायु प्रदूषण गराउने स्वास्थ्य शाखा गोरखाका जनस्वास्थ्य अधिकृत नवराज खड्काले बताए । ‘जंक फुडको सेवनले प्लास्टिकको उत्पादनलाई बढाउँछ’, उनले भने, ‘सामान्य घरायसी प्लास्टिकहरुलाई जलाइहाल्ने प्रवृत्तीले वायु प्रदूषणमा मुख्य भूमिका खेलेको हुन्छ । ’ वायु प्रदूषणसँगै ध्वनि र पानी प्रदूषणले पनि स्वास्थ्यमा नकरात्मक असर पार्ने हुँदा जिल्ला यस विषयमा अनुसन्धान जरुरी रहेको उनले बताएका छन् ।

वायु प्रदूषणको प्रत्यक्ष असर स्वास्थ्यमा देखिएको छ । केहीदिनदेखि निकै प्रदूषित् बनेको जिल्लाको वायुले जनजीवनमा गम्भीर असर पु¥याएको छ । वायु प्रदूषणका कारण आँखाको बिरामीको सङ्ख्या बढेको गोरखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सिद्धार्थ खनालले जानकारी दिए । ‘केही दिन देखी वायु प्रदूषण ह्वातै बढेकाले त्यसको प्रत्यक्ष असर स्वास्थ्यमा देखिएको छ’, उनले भने, ‘वायु प्रदुषणले आँखा पोल्ने, शरीर चिलाउने र चिड्चिडापन बढाउँछ ।’ वायु प्रदूषणको दीर्घकालीन असरहरु भने घातक रहेको श्रेष्ठले बताएका छन् । वायु प्रदूषणले मुटु तथा रक्तनली सम्बन्धी रोग हुने जोखिमलाई बढाउने उनले जानकारी दिए ।

यस्तै यसले श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग दमको रोग, दीर्घ श्वासप्रश्वास अवरोध रोग, फोक्सोको क्यान्सरको जोखिम, मस्तिष्कघात हुने जोखिम, छालाको समस्या, आँखा, नाक र घाँटीको संक्रमणहरुको जोखिम आदिलाई बढाउने खनालको भनाई छ । अहिलेको वायु प्रदूषण प्रेसर र दमका रागीहरुका लागी निकै हानीकारक हुने उनले बताए । वायु प्रदूषणको दुष्प्रभावबाट जोगिन सकेसम्म घरबाहिर ननिस्किन डा खनालले सुझाव दिएका छन् । बाहिर निस्किनु नै पर्ने अवस्थामा मास्क र चस्मा लगाउन उनी सुझाव दिन्छन् ।

प्रतिक्रिया दिनुहोस्