| आइतवार, कार्तिक २२, २०८३

पप्पुले अलपत्र पारेको पुलको पुनः ठेक्का भएर काम अघि बढ्यो

पप्पु कन्स्ट्रक्सनले अलपत्र पारेको त्रिशुली नदी माथिको मोटरेवल पुलको पुनः ठेक्का सम्झौता भएर काम अघि बढेको छ । पप्पुसँगको ठेक्का तोडेर नयाँ निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको गोरखा सडक योजनाले जनाएको छ ।

गण्डकी गाउँपालिका–१ बुटार र चितवनको इच्छाकामना गाउँपालिकाको चुमखोला जोड्ने उक्त पुल निर्माणका लागी २०७१ साल असार २९ गते पप्पु कन्स्ट्रक्सन ठेक्का सम्झौता भएको थियो । पटक पटक म्याद थप गर्दा पनि योजना सम्पन्न नगरेपछि २०७९ साल मंसिर २८ गते पप्पुसँग ठेक्का सम्झौता तोडिएको कार्यालय प्रमुख अमिन्द्र खड्काले बताए ।

‘धैरै पटक म्याद थप भयो तर पनि काम नगरेपछि बिभागको सहमतिमा हामीले ठेक्का तोडेका हौ,’ उनले भने, ‘अहिले पुनः ठेक्का आव्हान गरेर सम्झौता समेत भइसकेको छ ।’ सेवालुङ जलप जेभीसँग गत पुष २० गते ठेक्का सम्झौता भएको उनले जानकारी दिए । ठेक्का सम्झौता रकम २२ करोड ३३ लाख रहेको बताइएको छ ।

‘पप्पुले गरेको काम र त्यो योजनाको डिजाइन रिभ्यू गर्ने काम भइरहेको छ, त्यो पछि बाँकी काम शुरु हुन्छ,’ खड्काले भने । पप्पुले हालसम्म नदी वारिपारि एक÷एक वटा पिलर राख्ने काम मात्र सम्पन्न गरेको खड्काले बताए । पुलको कुल लम्वाई १ सय ५१ मिटर रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्