
औद्योगिक, व्यापारिक प्रतिष्ठान बन्द हुनु दुखद
एकातिर युवाहरु रोजगारी नपाएर विदेशिने क्रम बढिरहेको छ, अर्कातिर जिल्लामा संचालित घरेलु उद्योग तथा पसलहरु बन्द हुने क्रम बढ्न थालेको छ । कोभिड महामारीपछि बढ्न थालेको यो क्रम अहिले झन बढ्दै गएको छ । पर्यटन तथा उद्योग कार्यालय गोरखाको तथ्याङ्कअनुसार चालु आर्थिक बर्षको फागुन मसान्तसम्म ६० वटा उद्योग र ७३ वटा फर्म बन्द भइसकेका छन् । गत आर्थिक बर्ष ३९ वटा घरेलु उद्योग र एकसय सातवटा फर्मको दर्ता खारेज भएका थिए ।
धमाधम उद्योग र पसलहरु बन्द हुन थालेपछि पर्यटन तथा उद्योग कार्यालयले बिभिन्न स्थानीय तहमा उद्योग/व्यवसाय दर्ता गर्न प्रोत्साहन गर्ने उद्देश्यले शिविर सञ्चालन गरेको थियो तर ११ वटा पालिकामा जम्मा ११ वटा उद्योग र १४ वटा पसलमात्र दर्ता भए । सबैभन्दा धेरै आरुघाट गाउँपालिकामा आठ वटा नयाँ उद्योग दर्ता भएको कार्यालय प्रमुख भुजेलले बताए । अजिरकोट गाउँपालिकामा २ र पालुङटार नगरपालिकामा १ वटा उद्योग दर्ता भएको थियो भने अरु पालिकामा भने दताए भएनन् । सो शिविरमा ४ वटा निस्कृय उद्योगहरुले दर्ता नविकरण गरे । अझै २ वटा उद्योग खारेज गरिएको थियो ।
गोरखामा सञ्चालित उद्योग भनेको कुटानी, पिसानी मिल, फर्निचर उद्योग, पाउरोटी उद्योग, ढाका कपडा जस्ता साना, कुटिर उद्योगहरु हुन् । गोरखकाली रबर उद्योगजस्ता ठूला उद्योग त यसै बन्द छन् । धेरै भन्दा धेरै उद्योग, कलकारखाना, औद्योगिक, व्यापारिक प्रतिष्ठान, कृषि तथा पशुपालन फर्महरु सञ्चालन गरी स्वदेशमा रोजगारी सिर्जना गर्नुपर्नेमा भइरहेका, चलिरहेका पनि बन्द हुनु दुखद कुरा हुन् ।
विभिन्न विज्ञ, विशेषज्ञहरुसंग परामर्श, छलफल गरी नयाँ नयाँ सोच, रचनात्मक अवधारणाको विकास गरी मुलुककै अर्थतन्त्रमा प्रभाव पार्ने गरी उद्योग, व्यापारिक प्रतिष्ठानहरु सञ्चालन गर्नुपर्छ र विभिन्न बस्तुहरुमा आत्मनिर्भर बनाउनुपर्छ । तर हुँदाखाँदाका उद्योग, कारखाना, तथा व्यापारिक प्रतिष्ठान बन्द हुनु विकास र संवृद्धिका लागि अशुभ सुचक हुन् । यस्तो किन हुन्छ, औद्योगिक, व्यापारिक प्रतिष्ठानहरु बन्द नगर्न के गर्न सकिन्छ भन्ने बारेमा तीनै तहका सरकार, जनप्रतिनिधि, विज्ञ, विशेषज्ञहरुले शोध, खोज गर्नु आवश्यक छ ।




