| आइतवार, कार्तिक २२, २०८३

कट्टेलचोकदेखि कट्टेलडाँडासम्मको सडकखण्ड कालोपत्रे सुरु

बिगत करिब २५ बर्षदेखि धुले र हिले सडकको सकसपूर्ण यात्रा गर्न बाध्य कट्टेलडाँडा, आमडाँडा क्षेत्रका बासिन्दाले अब कालोपत्रे सडकमा यात्रा गर्न पाउने भएका छन् । गोरखा नगरपालिका वडा नं ८ खोलखोलेस्थित कट्टेलचोकदेखि कट्टेलडाँडासम्मको करिब दुई किलोमिटर सडक कालोपत्रे हुने भएपछि उनीहरुको सकसपूर्ण यात्रा समाप्त हुने भएको हो ।

कट्टेलचोकदेखि कट्टेलडाँडासम्मको करिब डेढ किलोमिटर सडकखण्ड शनिबारदेखि कालोपत्रे गर्न सुरु भएको छ । गण्डकी प्रदेश सरकारको करिब पाँच करोड रुपैयाँमध्य चार करोड ११ लाख रुपैयाँमा कृष्चल एवान जेभी कम्पनीले ठेक्का सम्झौता गरेर काम सुरु गरेको हो । लागतमा उक्त सडक खण्डको कालोपत्रेको काम सुरु भएको हो । क्रिष्चल ए वान जेभी कम्पनीले गत बर्षको जेठ ७ गते सो सडक स्तरोन्नतिको काम सुरु गरेको थियो ।

‘भिरालो सतहमा ढलान गर्ने, चौडा बढाउने, सम्याउने, ग्रेडिङ गर्ने, पर्खाल, नाला लगायतको काम त गत जेठको सातगतेबाट सुरु गरेको हो’, निर्माण कम्पनीका उमेश अर्यालले भने, ‘शनिबारबाट कालोपत्रे गर्ने काम पनि सुरु भएको छ । ११ सय मिटर कालोपत्रे हुन्छ । यसअघि चारसय मिटर ढलान भइसकेको छ । अब बाँकी चारसय मिटर ढलान गर्नुपर्ने छ ।’ यति स्तरोन्नति गरेपछि कट्टेलडाँडाबाट आमडाँडा जाने सडकको केही अघिसम्म स्तरोन्नति हुने उनले बताए ।

साँढे चारदेखि छ मिटर फराकिलो १८०० मिटर लामो सडक स्तरोन्नति गर्ने काम अन्तिम चरणमा पुगेको छ । ‘२०८१ को बैशाख पहिलोसातासम्म काम गर्ने म्याद बाँकी छ । निर्धारित म्यादभित्र काम सम्पन्न हुन्छ’, उनले भने । सडक स्तरोन्नति भएसँगै आवतजावतमा गर्न धेरै सजिलो हुने गोनपा ८ का वडाअध्यक्ष ऋषिराम केसीले जानकारी दिए । उक्त सडकसण्ड बिस्तार भएसँगै सडकलाई शहिदलखन गाउँपालिका स्थित तीनमाने भञ्ज्याङसम्म जोड्ने योजना रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्