
मोटरसाईकल चोरी प्रकरण : पक्राउ परेकाहरु कोही कारागार चलान, कोही धरौटीमा रिहा
मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेकाहरुमध्ये कोही कारागार चलान भएका छन् भने कोही धरौटीमा रिहा भएका छन् । गोरखा जिल्ला अदालतको बिहीवारको आदेश अनुसार केही कारागार चलान भएको र केही धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चोरीमा संलग्न दुई जना बालकलाई भने पुर्पक्षको लागि बाल सुधारगृह साराङकोट कास्की पठाइएको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए । बिभिन्न समयमा गोरखा र धादिङबाट मोटरसाइकल चोरी गरेको भन्दै प्रहरीले १२ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा दुई जना बालकसहित आरुघाट गाउँपालिकाका सुक बहादुर गुरुङ, रामबहादुर श्रेष्ठ, रोनिस भन्ने पदम बहादुर बराम, उत्तम भन्ने सोमबहादुर गुरुङ, देउवा भन्ने देवबहादुर गुरुङ, अन्जन घले, टेकबहादुर आले, कमल आले मगर, सुपारे भन्ने उज्वल बराम र गढीमाई नगरपालिका घर भई हाल आरुघाट गाउँपालिका आर्खेतको वर्कशपमा काम गर्ने शंकर शाह सोनार रहेका थिए ।
उनीहरु बिरुद्ध चोरी कसूर शीर्षकमा मुद्दा दर्ता भइ थप अनुसन्धान भइरहेको थियो । अदालतको बिहीवारको आदेश अनुसार सुकबहादुर र उत्तम भन्ने सोमबहादुरलाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ भने बाँकीलाई धरौटी बुझाएर तारेखमा रिहा गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।




