
काम नगर्ने ठेकेदारलाई सहिद लखन र सिराचोकले झैँ कारबाही गरौँ
विभिन्न योजनाहरु अलपत्र पारेको भन्दै केही महिनाअघि सहिदलखन गाउँपालिकाले तीनवटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्यो । अहिले फेरि सिरानचोक गाउँपालिकाले पनि काम नगर्ने निर्माण कम्पनीहरुलाई कारबाही प्रक्रिया अघि बढाएको छ ।
पहिलो चरणमा पालिकाभित्रका बिकासे योजना अलपत्र पार्ने निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ । गत चैत्र १४ गते सूचना जारी गर्दै पालिकाले सात दिनभित्र स्पष्टिकरण बुझाउन भनेको छ ।
सिरानचोक चक्रपथ निर्माणको जिम्मा लिएको भीमसेन थापा गाउँपालिकाको नव प्रभात निर्माण सेवा, पालिकाको औद्योगिक ग्रामको घेराबार निर्माणको जिम्मा पाएको काठमाडौंको सगरमाथा कन्स्ट्रक्सन कम्पनी प्रालि, घिमिरेगाउँ–हरिभन्ज्याङ–चम्पावती–ठाडे सडकको ठेक्का पाएको चितवनको गोरखनाथ इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालि र सिरानचोककोटदेखि सिद्ध गुफा सिँढी मर्मतको जिम्मा पाएको काठमाडौंको आरिज एमएच कन्स्ट्रक्सन प्रालिसँग स्पष्टीकरण सोधिएको छ ।
त्यस्तै आरुबोट–श्रीनाथमण्डली सडक स्तरोन्नतिको जिम्मा पाएको चितवनको भिजन कन्स्ट्रक्सन एण्ड सप्लायर्स र हर्मी भन्ज्याङ–कालढुंगे–निवारे सडक स्तरोन्नतीको ठेक्का पाएको गोरखाको लक्ष्मी कन्स्ट्रक्सनसँग पनि स्पष्टीकरण सोधिएको छ । आर्थिक बर्ष २०७९।८० र सो भन्दा अगाडि सम्झौता भएर अलपत्र परेका योजनाको निर्माण कार्य सम्बन्धमा सम्बन्धित निर्माण व्यवसायीसँग पटक पटक लिखित र मौखिक जवाफ माग्दा उनीहरुले कुनै प्रतिक्रिया नदिएपछि कालोसूचीमा किन नराख्ने, भनी स्पष्टिकरण सोधिएको हो । अहिलेसम्म तीनवटाबाहेक अरु कम्पनीले उत्तर बुझाएका छैनन् ।
काम अलपत्र पार्ने निर्माण व्यवसायीलाई सबै पालिकाले यसरी नै कडाइका साथ स्पष्टिकरण सोध्ने, कालोसूचीमा राख्ने, जरिबाना तिराउने हो भने निर्माण व्यवसायी सचेत हुनेछन् । यहाँ त कैयौँ कार्यालयहरु व्यवसायीसंग पिसी लिएर चुपचाप बस्ने गर्छन् । फँसिसकेपछि शीर ठाडो गरेर बोल्न नसकिने रहेछ । अब जिल्लाका अन्य पालिकाहरुमा पनि काम नगर्ने ठेकेदार र उसका कम्पनीलाई सिरानचोक र सहिदलखनले झैँ कारबाही प्रक्रियामा लैजानुपर्छ । अनि बल्ल उनीहरु कामप्रति सचेत, सजग रहन्छन् । देशको विकास निर्माणको कामले तिब्रता लिनेछ ।




