
दुर्घटनामा ज्यान गुमाउनेलाई गोरखा नगरपालिकाले ५० हजार राहत दिने
गत शनिबार बिहान त्रिशुलीमा भएको ट्याक्सी दुर्घटनामा जीवन गुमाएकाहरुको परिबारलाई गोरखा नगरपालिकाले राहत रकम दिने भएको छ । पृथ्वी राजमार्गको सिमलधारा नजिकैबाट त्रिशूली नदीमा ट्याक्सी खस्दा मृत्यु भएका ५ जना मृतक र एक जना वेपत्ता भएका बालकको परिवारलाई राहतस्वरुप ५० हजार रुपैयाँका दरले राहत रकम प्रदान गर्ने नगरप्रमुख कृष्ण राना मगरले जानकारी दिए । गोरखा नगरपालिकाको हालै सम्पन्न नगरसभाबाट पारित भएको ‘नगरपालिका विपद् व्यवस्थापन कार्यविधि २०८०’ अनुसार पालिकाले विपद् लगायत अन्य दुर्घटनामा परी ज्यान गुमाउने पालिकाबासीको परिवारलाई राहतस्वरुप ५० हजार प्रदान गर्ने उनले जनाए ।
कार्यविधिअनुसार गत शनिबार त्रिशूली नदीमा ट्याक्सी दुर्घटनामा परि मृत्यु भएकी गोरखा नगरपालिका वडा नं ७ पौवाफाँटकी ७० वर्षीया जुनकिरी रोका, गोनपा ४ फिनामकी हरिमाया रोका, ८ वर्षीय आगमन उपरकोटी, गोनपा १४ याङ्कोटकी २८ वर्षीया अन्जना रोका, चालक गोरखा नगरपालिका ५ का ३५ वर्षीय अर्जुन सिर्मल र बेपत्ता भएका गोनपा ७ पौवाफाँटका १८ वर्षीय बालक विवश रोकाको परिवारलाई प्रतिव्यक्ति ५० हजारको दरले राहत प्रदान गरिने भएको छ ।
हालै सम्पन्न नगरसभाले नगरक्षेत्र स्थायी बसोबास रहेका जोकोही नागरिक विपद् वा दुर्घटनामा परी मृत्यु भएमा राहत स्वरुप ५० हजार उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख कृष्णबहादुर रानाले जानकारी दिए । ‘हाम्रो नगरबासीहरु जोकोहीको विपद् अथवा दुर्घटनामा परी मृत्यु भयो भने परिवारजनलाई राहत स्वरुप ५० हजार दिने निर्णय गरेका छौँ’, मेयर रानाले भने । यस्तै, दुर्घटनामा परी घाइते अथवा अंगभंग भएमा व्यक्तिहरुलाई पनि राहतस्वरुप रु १५ हजार प्रदान गरिने नगरपालिकाले जनाएको छ ।




