
दुर्घटनाबाट पीडित भएका परिबारलाई साथ र सहयोगको खाँचो
बिगत एकबर्षदेखि क्यान्सर रोगबाट ग्रसित गोरखा नगरपालिका ७ तल्लो बतासे(पौवाखेत)का शंकर रोकाको गत शुक्रबार अपरान्ह काठमाडौँमा उपचारको क्रममा निधन भयो । उनको अन्त्यष्टिका लागि एकाघरका आफन्तजन तथा अन्य इष्टमित्र, छरछिमेकहरु ट्याक्सी तथा माइक्रोबस रिजर्भ गरी काठमाडौँ गए ।
अन्त्येष्टि सकेर उनीहरु दुईवटा ट्याक्सी तथा एउटा माइक्रोबसमा शनिबार बिहान तीनबजे काठमाडौँबाट गोरखाका लागि हिँडेका थिए । माइक्रोबस तीनकिलो आइपुग्यो, र एउटा ट्याक्सी मुग्लिन आइपुग्यो तर अर्को एक ट्याक्सी नआइपुगेपछि खोजतलास भयो ।
बिहान करिब पाँच बजेको समयमा पछि रहेको ट्याक्सीका चालक अर्जुन सिर्मलले म डुँबे बचाउनुस् भनेर फोन गरे । दुर्घटनाको अनुमान गरी खोजतलास गर्दा बिहान सात बजेतिर दुर्घटनाग्रस्त अबस्थामा ट्याक्सी भेटियो । त्यसमा सवार मृतक शंकरकी आमा जुनकिरी रोका, उनका छोरीहरु हरिमाया उपरकोटी र अञ्जना रोका, नाति आठबर्षका आगमन उपरकोटी र ज्वाईँ अर्जुन सिर्मलको घटनास्थलमै मृत्यू भयो । बुबा शंकरलाई दागबत्ती दिएर आएका सोही ट्याक्सीमा सवार विवश रोका अहिलेसम्म पनि बेपत्ता छन् ।
शंकरका बुबा दिलबहादुर रोकाको यसअघि करिब १५ बर्षअघि नै मृत्यू भइसकेको थियो । सो परिबारमा अब शंकरकी श्रीमती बबिता मात्र छिन् । सो परिबारमा अहिले असीम पीडा छ । पीडा सो परिबारमा मात्र सीमित छैन । शोकको यो घडीमा आम जनमानसले सामाजिक सञ्जालमा भावपूर्ण श्रद्धाञ्जली अभिव्यक्त गरिरहेका छन् । गोरखा नगरपालिका, विभिन्न राजनीतिक दलहरुले शोक विज्ञप्ति जारी गरी श्रद्धाञ्जली तथा समवेदना प्रकट गरिरहेका छन् । यसले पीडित परिबारलाई धेरथोर भने पनि मानसिक बल प्राप्त भएको हुनसक्छ ।
एकबर्षदेखि उपचार गर्दागर्दै परिबारमा आर्थिक समस्या भएको पनि हुनसक्छ । झन यो पीडा थपिँदा परिबारमा थप साथ र सहयोगको खाँचो परेको हुनसक्छ । तसर्थ यस अवस्थामा शुभेच्छुक, शुभचिन्तक, सहयोगी मनहरुले तन, मन, धन सम्पूर्ण रुपमा साथ र सहयोग गर्ने अबस्था सिर्जना भएमा आहतका बेला राहत मिल्नसक्थ्यो । त्यसतर्फ पनि सोच्ने हो कि ?




