| मङ्लबार, कार्तिक २४, २०८३

मासिक ३३ लाखभन्दा बढिको नियमित औषधी खान्छन् गोरखा नगरवासी, प्रेसर र सुगरको औषधी सेवन गर्ने धेरै

प्रतिक्षा आले:

गोरखा नगरपालिकाका बासिन्दाले प्रतिमहिना ३३ लाख भन्दा बढिको नियमित औषधी खाने गरेको पाइएको छ । कुल ५३ हजार ८८५ जनसंख्या रहेको नगरपालिकामा नसर्ने रोगको नियमित औषधी सेवन गर्नेको संख्या छ हजारभन्दा बढी रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

‘नसर्ने रोगको नियमित औषधी खानेमा सबैभन्दा धेरै प्रेसरका बिरामी छन्,’ नगर स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले भने, ‘त्यसपछिको धेरै सुगरको औषधी सेवन गर्ने बिरामी छन् ।’ चालु आर्थिक बर्ष ३ हजार ३ सय जनाले नियमित रुपमा प्रेसरको औषधी खाइरहेको उनले जानकारी दिए । ‘गतबर्ष २ हजार ५ सय थिए, यो बर्ष आठ सय थपिए,’ उनले भने । प्रेसरको औषधी खानेको संख्या प्रत्येक बर्ष सात देखि आठ सयका दरले बढ्ने गरेको उनले बताए ।

कार्यालयका अनुसार करिव दुई हजार जनाले सुगरको नियमित औषधी सेवन गर्ने गरेका छन् । औषधी सेवन गर्नेको संख्या बर्षेनी दुईदेखि तीन सयका दरले बढ्ने गरेको बताइएको छ । ग्यास्टिकको औषधी सेवन गर्नेको संख्या पनि उत्तिकै रहेको स्वास्थ्य शाखा प्रमुख रेग्मीले बताए । उनले भने, ‘ग्यास्टिकको औषधी खाने यो बर्ष २ हजार ९ सय जना हुनुहुन्छ, तर नियमित भने नहुन सक्छ ।’

दम, मुटु रोग, थाइराइड, डिप्रेशन र मानसिक समस्याको औषधी सेवन गर्नेहरुको संख्या पनि धेरै रहेको स्वास्थ्य शाखाले जनाएको छ । ‘अहिले नगरवासीमा मानसिक समस्या बढी देखिएको छ’, रेग्मीले भने, ‘निन्द्राको औषधी खानेको संख्या पनि अपत्यारिलो छ ।’ यता ढाड र घुँडा दुख्ने समस्या भएकाहरुले पनि नियमित औषधी सेवन गर्दै आएको उनले जानकारी दिए ।
नगरपालिकाका अनुसार नियमित औषधी सेवन गर्नेको संख्या बर्षेनी बढ्दो छ । कोभिडको समयमा नगरपालिका स्वास्थ्य शाखाले नियमित औषधी खाने बिरामीहरुको तथ्याङ्क संकलन गरेको थियो । त्यसयता बर्षेनी तथ्याङ्क अध्यावधिक गर्दै आएको नगरपालिकाले जनाएको छ

प्रतिक्रिया दिनुहोस्