| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा नगरबासीलाई गोरखा अस्पतालमा निशुल्क स्वास्थ्य उपचार !

प्रतिक्षा आले मगर :

के तपाईले गोरखा अस्पतालबाट स्वास्थ्य उपचार कार्ड बनाउनु भएको छ ? छैन भने ढिला नगरी कार्ड बनाउनुस् र गोरखा अस्पतालबाट निशुल्क स्वास्थ्य सेवा लिनुहोस् । गोरखा नगरपालिकाले आफ्नो नगरबासीलाई निशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको छ । स्वास्थ्य उपचार कार्ड बनाएकाहरुलाई नगरपालिकाले निशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको हो ।

बिगत आठ महिनादेखि निशुल्क स्वास्थ्य उपचार सेवा सुरु गरेको गोरखा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले जानकारी दिए । उनका अनुसार गोरखा अस्पतालबाट निशुल्क स्वास्थ्य उपचार सेवा पाउनका लागि अस्पतालबाट स्वास्थ्य उपचार कार्ड बनाउनु पर्ने हुन्छ ।

‘गोरखा नगरबासी हो भन्ने प्रमाणित हुने जुनकुनै कागजी प्रमाण देखाए पछि गोरखा अस्पतालले निशुल्क स्वास्थ्य उपचार कार्ड बनाइदिन्छ’, स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मी भन्छन्, ‘जन्मदर्ता अथवा नागरिकता, सवारी लाइसेन्स अथवा मतदाता परिचयपत्र देखाए पनि अस्पतालले कार्ड बनाइदिन्छ । त्यो कार्ड देखाएपछि टिकटको पनि पैसा लाग्दैन, स्वास्थ्य परीक्षणको पनि पैसा लाग्दैन, औषधीहरुको पनि पैसा लाग्दैन । सबै निशुल्क हुन्छ ।’

आधारभूत स्वास्थ्य सेवा सुरु गरेको गोरखा नगरपालिका र गोरखा अस्पताल बीच नगरबासीलाई निशुल्क स्वास्थ्य सेवा दिने बारे यसअघि नै सम्झौता भएको थियो । ‘गोरखा नगरबासीले ल्याब टेस्ट, एक्सरे, भर्ना भएर अन्तरंग सेवा लिएको सबै सेवा निशुल्क पाउँछन्’, स्वास्थ्य शाखा प्रमुख रेग्मी भन्छन्, ‘यो सेवा सुरु भएको आठ महिना भएको छ । सुरु सुरुमा भएर हो कि, धेरैलाई यो कुरा थाहा नभएर होला, धेरै जनाले स्वास्थ्य उपचार कार्ड बनाएर यो सेवा लिएका छैनन् ।’ नगरबासीलाई निशुल्क स्वास्थ्य सेवा दिने काम नेपालमै यो पहिलो हुनसक्ने रेग्मीले दाबी गरे ।

कार्ड बनाएका नगरबासीले नियमित खाने सुगर, प्रेसर लगायतका रोगका औषधी पनि निशुल्क पाउने गरेका छन् । ‘कार्ड बनाएर निशुल्क स्वास्थ्य सेवा लिने बारे सबै जानकार हुन जरुरी छ’, उनले भने, ‘नगरपालिकाले दिएको सेवा लिनु सबैका लागि अवसर हो । यसबारेमा आफू पनि जानकार हुनुपर्छ, अरु सबैलाई यसबारेमा जानकारी गराई मौकाको फाइदा लिनुपर्छ ।’
स्वास्थ्य उपचार कार्ड लिएकाहरुले ९८ प्रकारका औषधि र १८ प्रकारका ल्याब सेवा निशुल्क पाउने गरेका छन् ।

‘गोरखा नगरपालिकाले नगरबासीहरुलाई एक्सरे, नेवुलाइजेशन, ड्रेसिङ, घाउ सिउने, फुकाउने लगायतका सेवा निशुल्क पाउँछन्’, रेग्मीले भने, ‘रगतबाट परीक्षण हुने ल्याब टेस्टहरु सुगर, प्रेसर, थाइराइड परीक्षण, दिसा, पिसाब परीक्षण, गर्भ परीक्षण पनि निशुल्क हुनेछ । कार्डको आधारमा नगरवासीको पहिचान गरी अस्पतालले आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने ब्यवस्था मिलाइएको छ ।’

जनरल बेडमा भर्ना हुनेलाई बेड चार्ज र भर्ना निःशुल्क उपलब्ध हुने छ । ‘स्वास्थ्इ उपचार कार्ड नंबर याद छ भने कार्ड साथमा नभए पनि नंबरकै आधारमा निशुल्क सेवा पाइन्छ’, उनले भने, ‘यो धेरै राम्रो सेवा हो । यसको बारेमा सबैजना सचेत हुनु जरुरी छ ।’ नगरबासीले सेवा लिएबापत गोरखा नगरपालिकाले गोरखा अस्पताललाई भुक्तानी दिने गरेको छ । नगरबासीलाई निशुल्क सेवा दिनेका लागि चालु आर्थिक वर्ष नगरपालिकाले १५ लाख बिनियोजन गरेको छ । सो रकमले आठ महिनासम्म धानेको छ । धेरै सेवाग्राहीलाई जानकारी नभएर पनि १५ लाखले धानेको हुनसक्ने स्वास्थ्य शाखाको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्