| आइतवार, कार्तिक २२, २०८३

गोरखामा सडक खाना महोत्सव गरेर नयाँ बर्ष मनाइने

नयाँ बर्षलाई लक्षित गरी गोरखा सदरमुकाममा सडक खाना महोत्सव हुने भएको छ । गोरखा होटल संघको आयोजनामा चैत्र ३० र बैशाख १ गते दुई दिवसीय महोत्सव हुन लागेको हो । गोरखा सदरमुकामको पुरानो बसपार्कदेखि ठुलोआँगन क्षेत्रलाई समेटेर महोत्सव गर्न लागिएको मंगलवार पत्रकार सम्मेलन गरी संघले जनाएको छ ।

‘महोत्सव अवधिभर त्यो क्षेत्रमा गाडी चल्दैनन्,’ संघका जिल्ला अध्यक्ष निधिप्रसाद तिमिल्सिनाले भने, ‘सडकमै स्टलहरु हुन्छन्, सडकमै बसेर खाने व्यवस्था हुन्छ ।’ कुल ५० वटा स्टल रहने र त्यसमा बिभिन्न जातजाती बिशेष स्थानीय परिकारका खानाहरु पाइने उनले जानकारी दिए । महोत्सवसँगै स्थानीय तथा राष्ट्रिय कलाकारको सांगतिक प्रस्तुती समेत हुने बताइएको छ ।

रानीपोखरी परिसरमा स्टेज हुने बताउँदै तिमिल्सिनाले भने, ‘रविन लामिछाने, आशा विसी लगायतका राष्ट्रिय कलाकारहरुको प्रस्तुती पनि हुन्छ । साथमा गोरखा मल्टिट्यालेन्ट ग्रुप र डेजवु व्याण्डको समेत प्रस्तुती हुन्छ ।’ चैत्र ३० गते राती एक बजेसम्म कार्यक्रम हुने उनले जानकारी दिए । जिल्लाका धार्मिक एवं पर्यटकीय स्थलको प्रचार प्रसार गर्दै जिल्लामा पर्यटन प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उदेश्य रहेको बताइएको छ ।

‘नयाँ बर्ष मनाउनका लागी सौराहा, बन्दीपुर, पोखरा लगायतका ठाउँमा जाने ट्रेन्ड छ,’ तिमिल्सिनाले भने, ‘यो बर्षबाट गोरखामै नयाँ बर्ष मनाउने वानीको बिकास गराउन पनि महोत्सव गर्न लागेका हौँ ।’ महोत्सव सम्पन्न गर्न करिव १२ लाख लाग्ने संघले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्