| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा अस्पतालको लापरवाही : प्रसूती सेवा ठप्प पारेर चिकित्सक बिदामा

गोरखा नगरपालिका–१० बिरेन्चोककी प्रतिमा राना मगर सुत्केरी गराउन वुधवार गोरखा अस्पताल पुगिन् । चैत्र २ गतेको डेट कटेपछि उनी भर्ना हुन अस्पताल पुगेकी थिइन् । तर चिकित्सकले सामान्य चेकजाँच समेत नगरी भरतपुर रेफर गरिदिए । ‘हामी केही दिन बिदामा हुन्छौ, त्यसैले यहाँ हुदैन भरतपुर लानुस् भन्नुभयो,’ प्रतिमाका श्रीमान बिनोद राना मगरले भने, ‘शुक्रवार बिहानै भरतपुर जान बाध्य भयौ ।’

सुत्केरी गराउन आएकालाई सिधै भरतपुर रेफर
जिल्लामै उपलब्ध सेवाका लागी भरतपुर जानुपर्दा समस्या भएको उनले गुनासो गरे । उनले भने, ‘गर्भवती भएदेखिको नियमित चेकजाँच गोरखा अस्पतालमै गरियो । घर नजिकै भएर सजिलो पनि भएको थियो, तर अहिले मुख्य समयमा यहाँ हुदैन बाहिर लानुस् भनिदियो ।’ आर्थिक हिसावले पनि गोरखाभन्दा भरतपुर महँगो पर्ने उनले बताए । शहिद लखन गाउँपालिका–९ का सन्तोष बिश्वकर्मा पनि चैत्र ७ मा श्रीमतीलाई सुत्केरी गराउन गोरखा अस्पताल पुगेका थिए । तर सामान्य परिक्षण समेत नगरी चिकित्सकले भरतपुर लैजान भने ।

‘चेकजाँच नै नगरी सिधै डाक्टर हुनुहुन्न भरतपुर लानुस् भन्नुभयो, भोलीपल्ट पनि अस्पताल जाँदा त्यही भन्नुभयो, आज पनि त्यही भनेपछि भरतपुर लानका लागी पैसाको जोहो गर्दै छु,’ बिश्वकर्माले भने । उनीहरु मात्र होइन चैत्र ७ देखि सुत्केरी गराउन गोरखा अस्पताल आएका गर्भवती महिलालाई अस्पतालले विना चेकजाँच सिधै भरतपुर रेफर गर्ने गरेको छ । चिकित्सक अभाव भन्दै उनीहरुले सेवा दिन आनाकानी गर्ने गरेको पाइएको हो । हाल गोरखा अस्पतालमा दुई जना गाइनोक्लोजिष्ट छन् ।

उनीहरुमध्ये एक जना केही दिनदेखि तालिममा रहेको अस्पतालका निमित्त मेसु सिदार्थ खनालले बताए । उनका अनुसार बाँकी एक जना दुई दिन बिदाका लागी शुक्रवार घर गएका छन् । शुक्रवारसम्म ‘सिजरियन’ नभएपनि नर्मल डेलीभरी भने भइरहेको उनले दावी गरे । शनिवार र आइतवार भने सुत्केरी सेवा दिन नसक्ने उनले जानकारी दिए । जनशक्ति अभावका कारण पनि सेवा प्रवाहमा समस्या भएको उनको भनाइ छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले पनि यो कुरा स्वीकार गर्दै कमजोरी भएको बताए । ‘भरतपुर रिफर गरेको भन्ने कुरा मैले पनि सुने,’ उनले भने, ‘यो गलत भयो ।’ यस बिषयमा मेडिकल सुपरिटेण्डेन्टसँग समेत कुरा भएको र आगामी दिनमा यस्ता गल्ती नदोहोरिने उनले बताए ।सेवा ठप्प पारेर दुवै जना एकैपटक बिदामा बस्नु गलत भएको उनको भनाइ छ । ‘एक जना बसेर भएपनि सेवा दिनुपथ्र्याे,’ उनले भने, ‘मेसुले बिचार गर्नुपथ्र्याे यो कुरा ।

यो राम्रो भएन, हामी करेक्सन गर्छाै ।’ सेवा नै ठप्प पारेर चिकित्सक बिदामा बस्नु गलत भएको भन्दै अस्पतालको आलोचना समेत हुन थालेको छ । अस्पतालमै पाइने सेवा लिन भरतपुर जानुपर्दा बिरामी र आफन्तले सास्ती खेप्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्