
बाँझो जमिनमा खेती गर्न चाहनेले भाडामा अनुदान पाउने
नगर क्षेत्रभित्रका खेतीयोग्य जमिन बाँझो राख्न नदिन गोरखा नगरपालिकाले बिशेष योजना ल्याएको छ । खेतीयोग्य बाँझो जमिनको भूमि बैँक निर्माण गरी खेती गर्न चाहने किसानलाई भाडामा उपलब्ध गराउने भएको छ । जग्गा भाडामा लिने किसानलाई रोपनीको आधारमा अनुदान उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । गोरखा नगरपालिकाको १२ औँ नगर सभाले सो निर्णय गरेको हो । खेतीयोग्य जमिनलाई बाँझो राख्ने व्यक्तिलाई भूमिकर दोव्वर बनाइने समेत नगरपालिकाले जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैकसँग भएको सम्झौता अनुरुप व्यवसायिक किसानलाई दिइने व्याज अनुदान कार्यक्रमलाई व्यवहारिक रुपमै थप कार्यान्वयन गर्ने प्रयास गर्ने नीति नगरपालिकाले लिएको छ । त्यस्तै उत्पादनमा आधारित अनुदान कार्यक्रम लागू गरी किसानलाई निर्वाहमुखीबाट व्यवसायिकमा रुपान्तरण गर्ने नगरपालिकाले जनाएको छ । व्यवसायिक किसानलाई कृषि तालिम तथा यान्त्रिकरण अनुदानको व्यवस्था समेत गर्ने बताइएको छ ।
उत्पादित तरकारी तथा फलफुललाई संकलन केन्द्र तथा बजारसम्म पु¥याउन कृषि एम्वुलेन्स संचालन गर्ने बताइएको छ । नगरपालिकाका अनुसार स्थानीय कृषि उपजहरुको लेवलिङ र प्याकेजिङ गर्ने कार्यक्रम संचालन गरिने छ । नीजि क्षेत्र तथा सहकारी संस्थासँग सहकार्य गरी प्राङ्गारिक तथा भुमीमल उद्योग स्थापना गर्ने नीति नगरपालिकाले लिएको छ । नगर स्तरीय कृषि हाटबजार, संकलन केन्द्र तथा चिस्यान केन्द्र स्थापना गर्ने योजना नगरपालिकाको छ । उत्पादित कृषि उपजलाई बजारसम्मको पहुँच पु¥याउन सहकारी संस्थाहरुसँग सहकार्य गरिने बताइएको छ ।
कृषि तथा पशुपन्छी प्रवद्र्धनका लागि नगरपालिकाले मल बीउ तथा प्रविधिमा विशेष अनुदान कार्यक्रमलाई निरन्तरता दिने भएको छ । कृषि तथा पशुपन्छी क्षति राहत कोष स्थापना गरिने भएको छ । दुग्ध सहकारी, डेरी उद्योग तथा चिलिङ झ्याट स्थापना गर्दै एक वडा पाँच नमुना उत्पादन गर्ने नीति नगरपालिकाले लिएको छ । पशु वधशाला तथा स्लटर हाउस निर्माणका लागि पशु सेवा बिभागसँग पहल गरिने बताइएको छ ।
नगरभित्र आत्मनिर्भर भएका कृषि उपजको आयातलाई निरुत्साहित गरिने भएको छ । खेतीयोग्य जमिनमा बोरिङ पम्प वा अन्य सिंचाइको योजना संचालन गरिने छ । किसानको उत्पादन लागतमा कमी ल्याउन नगरपालिकाले घाँस बिकासमा जोड दिएको छ । बिभिन्न घाँसका बिउ तथा बिरुवा समेत अनुदानमा उपलब्ध गराइने बताइएको छ । कृषि तथा पशुपन्छी क्षति राहत कोष स्थपना गर्ने र सुत्केरी गाई भैसीलाई भिटामिनको व्यवस्था गर्ने नगरपालिकाको तयारी छ ।
बाँदर नियन्त्रणका लागि प्रभावित क्षेत्रमा काजु र कफीको खेती कार्यक्रम लागू गर्ने नगरपालिकाले जनाएको छ । दरौँदी नदीमा करेण्ट लगाउने र राती जाल हालेर माछा मार्ने कार्यलाई रोक्ने नगरपालिकाले जनाएको छ । करेण्ट लगाउने र राती जाल हान्ने कार्यले माछा लगायत जलचर नष्ट हुनुका साथै माछा मार्ने व्यवसाय प्रभावित भएकाले उक्त गतिविधि रोक्ने कार्यक्रम संचालन गर्ने बताइएको छ ।




