
शैक्षिक गुणस्तर अझै उकास्ने कार्यक्रम ल्याऊ
शैक्षिक गुणस्तर वृद्धिका लागि जिल्लाका स्थानीय तहहरुले विभिन्न खालका कार्यक्रमहरु घोषणा गरिरहेका छन् । बिशेष गरी सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर उकास्न र सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन पालिकाहरुले विभिन्न योजनाहरु तय गरेका छन् । कतिपय योजनाहरु घोषणा मात्र भएका छन्, भने कतिपय योजनाहरु कार्यान्वयनको चरणमा छन् ।
भीमसेन थापा र अजीरकोट गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो छोराछोरीलाई सामुदायिक बिद्यालयमा पढाउनुपर्ने कार्यक्रम अघिल्लो बर्ष नै घोषणा गरेका थिए । ढिला घोषणा भएकाले कार्यान्वयनमा कठिनाइ भएको उनीहरुको भनाइ थियो । यसबर्ष गोरखा नगरपालिकाले पनि यस्तो कार्यक्रम घोषणा गरेको छ । समयमै घोषणा गरेकाले कार्यान्वयन गर्न कठिनाइ नहुने अनुमान गरिन्छ ।
यता गोरखा नगरपालिकाले पालिका भित्रका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीको एउटै पोशाक बनाउने नीति ल्याएको छ । शिक्षा क्षेत्रमा गरिएका यस्ता निर्णय र नीति फलदायी बन्लान् वा नबन्लान् त्यो त कार्यान्वयन चरणपछि नै थाहा होला । अहिले नै यो गलत वा सही भनेर मूल्याकंन गर्नु मुर्खता हुन्छ । तर पालिकाले गरेका निर्णयहरु कार्यान्वयन गर्न सोचे जस्तो सहज भने देखिदैन ।
निजी र सामुदायिक विद्यालयका बिद्यार्थीको पोशाक एउटै बनाउने भन्ने गोरखा नगरपालिकाको नीति कति सान्दर्भिक होला ? हुन त निजी बिद्यालयको महँगो शिक्षालाई निरुत्साहित गर्नुपर्छ । तर पोशाकले यसका त्यति तार्किक अर्थ नराख्ला । शिक्षाको गुणस्तर बढाउन सके स्वतः बिद्यार्थीहरु सामुदायिक विद्यालयतर्फ आकर्षित हुने छन् ।निजी विद्यालयको बिरोध मात्र गरेर हुदैन, पहिले सामुदायिक विद्यालयको सुधारको खाँचो ।
विद्यालयमा हुने राजनीतिकरण, शिक्षकको लापरवाही र सरोकारवालाको वेवास्ता सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कनुको प्रमुख कारणहरु हुन् । सामुदायिक बिद्यालयका लागि सरकारले अथाह लगानी गरेको छ तर प्रतिफल अपेक्षाकृत छैन । शिक्षकका लागि पनि बिभिन्न सेवा सुविधा दिएकै छ तर निजीलाई जहिले प्रतिपक्षी संस्थाको रुपमा मात्र हेर्ने गरेको छ । विद्यालय पोशाकले शैक्षिक गुणस्तरमा खासै अर्थ राख्दैन । यस्ता खालका योजना भन्दा शैक्षिक गुणस्तर उकास्ने खालका प्रभावकारी योजना ल्याउनु बुद्धिमानी हुन्छ ।




