
बूढीगण्डकी निर्माण कार्य अघि बढाउन भन्दै गोरखा र धादिङका जनप्रतिनिधीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
बूढीगण्डकी जलविद्युत आयोजनाको स्रोत सुनिश्चितता गरी निर्माण कार्य अघि बढाउन गोरखा र धादिङका जनप्रतिनिधीहरुले प्रधानमन्त्रीसमक्ष माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले आयोजना निर्माण प्रक्रिया अघि नबढ्दा आयोजना प्रभावितहरुमा समस्या थपिदै गएको बताएका छन् ।
शहीदलखन गाउँपालिका अध्यक्ष रमेश थापा मगर, भीमसेन गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जरा, आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तन, गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना, धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती, ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनै लगायतको टोलीले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री दाहालले आयोजना निर्माणको कामलाई तीव्रता दिन आफूले प्रयास गरिरहेको बताए । केही दिनभित्रै आवश्यक निर्णय हुने उनले बिश्वास दिलाए । आयोजनाको लगानीका लागी दुई वटा ढाँचा प्रस्ताव गरी उर्जा जलस्रो तथा सिंचाइ मन्त्रालयमा पठाइएको बूढीगण्डकी जलबिद्युत कम्पनीले जनाएको छ । स्वदेशी लगानीमा आयोजना निर्माण गर्ने भनिएपछि मोडालिटी बाटरे भने अझै एकीन नहुदाँ निर्माण कार्य अघि बढ्न नसकेको हो ।




