| आइतवार, कार्तिक २२, २०८३

विद्युतीय माइक्रो बस सेवा सुरु भएपछि भाडा घट्ने विश्वास

गोरखा दरौंदी यातायात सेवा कम्पनी प्रालिले गोरखामा पनि विद्युतीय माइक्रोबस सेवा सञ्चालन गर्ने भएको छ । आउँदो आइतबार १० वटा माइक्रोबस ल्याई पु¥याउने र सोमबारबाट सञ्चालन गर्ने सो कम्पनीले जनाएको छ । १६ सिटे स्तरीय विद्युतीय बस सेवा सञ्चालन भएपछि धेरै कुराहरुमा सकारात्मक प्रभाव पर्ने अपेक्षा छ । पहिलो सेवा त यात्रुले नयाँ प्रविधिको बसको स्तरीय सेवा पाउनेछन् । पेट्रोल, डिजेल जस्ता इन्धनबाट सवारी साधन सञ्चालन हुँदा निस्कने धुवाँले वातावरण प्रदुषण हुने समस्या हुन्छ । तर विद्युतीय बस सेवा सञ्चालन भएपछि यो समस्या कम हुनेछ ।

पेट्रोल, डिजेलजस्ता इन्धन महंगो हुन्छ । विद्युतबाट बस सेवा सञ्चालन भयो भने कम लागतमा गोरखा, काठमाडौँ आवतजावत गर्न सकिन्छ । निजी विद्युतीय सवारी धनीका अनुसार पेट्रोल, डिजेल इन्धनभन्दा विद्युतीय इन्धन तीनगुना काम लागत लाग्नेछ । लागत तेब्बर कम भएपछि भाडा पनि पक्कै कम हुनेछ । विद्युतीय सवारी साधन खरिद गर्न सरकारले राजस्व छुट दिएको छ । त्यो छुटबापतको रकमले व्यवसायीलाई मात्र नभै सेवाग्राहीलाई पनि राहत पुग्नु पर्दछ, किनभने त्यो छुट सरकारले दिएको राहत व्यवसायीलाई मात्र नभै सर्वसाधरण यात्रुका लागि पनि हो । तसर्थ सरकारले ढिला नगरीकन विद्युतीय सवारीबाट हुने यातायात सेवाको भाडादर पुनरावलोकन गर्नु जरुरी छ ।

त्यति मात्र होइन, कतिपय सडक यसअघि भन्दा स्तरोन्नति भइसकेका छन्, तर भाडा भने कच्ची सडक छँदा निर्धारण गरेकै दररेटमा चलिरहेको छ । त्यसको पनि भाडादर पुनरावलोकन गर्नुपर्दछ । विभिन्न कारण लागत बढ्दा भाडादर पनि बढ्नु स्वभाविक हुन्छ । तर लागत कम हुँदा भाडादर पनि कम गर्नु अनिबार्य छ । यसका लागि व्यवसायीहरुले पनि पक्कै ससल्लाह गरिरहेका छन् । यदि छैनन भने पनि बिलम्ब नगरी यस विषयमा निर्णय गर्नुपर्छ । अन्यथा आलोचना गर्न माहिर सर्वसाधारणले आलोचना गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्